मनोज भट्टराई, यो नाम सुन्नासाथ एउटा श्यामल वर्णको अलि होचो कदको मान्छेको विम्ब आउँछ । त्यसैमा जोडिन्छ निलो कोट र पाइन्ट । जस्तो कि कहिलेकाहीँ  निलो र कालो रङ्गको संयोजन हेर्ने हो भने मनोज भट्टराई हेरुजस्तो ।
हामीले चिनेको मनोज भट्टराईको खास नाम सूर्यबहादुर भट्टराई हो, तर सबैले चिन्ने वा प्रिय नाम मनोज भट्टराई नै हो । मनोज भट्टराई नामले यति धेरै चकचक गरेको छ नि, खसोखासमा सूर्यबहादुर भट्टराई नामलाई नागरिकतामा कहीँ चेप्टाएर राखिदिएको छ । 
तत्कालीन नेकपा माओवादीको पेचिलो सङ्घर्षले नेतृत्वकोरुपमा जन्माएको हो,मनोज भट्टराईलाई ।  त्यसैले उनी ०७४ र २०७९ गरी दुई पटक धरान–१७ को वडाध्यक्ष भए । पहिलो स्थानीय निर्वाचनमा त धरानमा माओवादीको नाममा खाता खोल्ने उम्मेदवारको नाममा मनोज भट्टराईको नाम जोडिन्छ ।
यो दुई कार्यकालको अनुभवले मनोजलाई परिपक्व नेतृत्वको रूपमा स्थापित गरायो । यो कार्यकालमा उनले धरान १७ को रेल्वे चौकलाई बगैँचासहितको ४ लेनको सडक बनाए जो धरानको एक मात्र सडक हो । सरस्वती ढल तथा कोरिडोर निर्माण ६ करोड बजेट लगाउन सफल भए ।
धरानभित्रकै एक मात्र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र आफ्नो वडामा स्थापना गरे अनि वडाध्यक्ष भएबापत आउने सेवा सुविधा नलिएर राजश्वमा जम्मा गरिदिए । यसै गरी कोभिडको समयमा सचेत नागरिक समाज धरान १७ सङ्गको सहकार्यमा खाद्यान्न वितरण, क्वारेन्टाइन केन्द्र स्थापना तथा अप्ठ्यारोमा परेका ३सय ५० जनालाई दैनिक ४६ दिन खाना खुवाए ।
वडाध्यक्ष भएपछि संस्थागतरुपले मनोज भट्टराई खानेपानी व्यवस्थापन बोर्डको सदस्य बने, रेडक्रस मासमेत सक्रिय रहे, सुनसरी जिल्ला जुडो सङ्घको अध्यक्ष भए, धरान उपमहानगरपालिकाको प्रवक्ता बने अनि नेपाली कम्युनिस्ट पार्टी हुनु अगाडिको नेपाल कम्युनिस्ट पार्टी माओवादीमा प्रदेश सदस्य रहे । यतिबेला भने उनी प्रतिनिधि सभाको उम्मेद्वारको रूपमा चुनावी मैदानमा छन् । अर्थात्, नेतृत्वको कोणबाट अलि ठुलो भूगोल र जिम्मेवारीमा । निर्वाचनमा जित्ने उनको आधार के त ? उनी भन्छन्–‘जनताको माया र सद्भाव अनि मेरो कामप्रतिको जवाफदेशिता ।’
प्रतिस्पर्धीहरूलाई गालीगलौज नगर्ने प्रतिबद्धता लिएर चुनावी मैदानमा उत्रिएका उनी सङ्ग ‘फिजिकल कनेक्टिभिटी’ र ‘स्पिरिचुवल कनेक्टिभिटी’को मुद्दा छ । अर्थात्, उनी धरान–वराहक्षेत्र– राम धुनीलाई जोड्न चाहन्छन्–‘फिजिकल्ली र स्पिरिचुअल्ली’ । सडक सञ्जाल उनको ‘फिजिकल्ली कनेक्टिभिटी’को मुद्दा हो । मनोज भट्टराई भन्छन्–‘सुनसरी क्षेत्र १ को चुनावी भूगोल धरान, वराहक्षेत्र र राम धुनी नगरपालिका सङ्ग जोडिन्छ तर मनमा चैँ सर्दु वारि र सर्दु पारि भन्ने मनोविज्ञान छ । म यो मनोविज्ञानलाई ‘फिजिकल कनेक्टिभिटी’को मुद्दाले निमिट्यान्न पार्न आएको हुँ ।’
उनको ‘स्पिरिचुवल’ मुद्दा चैँ धरान, वराहक्षेत्र र राम धुनीलाई धार्मिकरुपमा जोड्ने मुद्दा हो । उनको विचारमा धरान, वराहक्षेत्र र राम धुनीलाई धार्मिकरुपमा जोड्न सकिन्छ भन्ने छ । धरान–१४ मा रहेको दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर तथा धरान–२० रहेको विष्णृुपादुका मन्दिरलाई वराहक्षेत्र नगरपालिकाको वराहक्षेत्र मन्दिर र राम धुनी राम धुनी नगरपालिकाको राम धुनी मन्दिरसँग जोडेर ‘स्पिरिचुवल कनेक्सन’ गर्न सकिन्छ भन्ने सोच बोकेका छन् । मनोज भट्टराई भन्छन्–‘यसरी जोडेर धार्मिक पर्यटनमार्फत हामी ‘स्पिरिचुवल कनेक्टिभिटी’मा रहन सक्छौ ।’यी बाहेक उनी सङ्ग धरान–२० लाई पहाडी वडाको रूपमा स्थापित गरेर यसको सुन्दरतालाई जोगाउनु पर्छ भन्ने मान्यता राख्छन् । किन पहाडी वडाको रूपमा जोगाउने त ? उनको तर्क छ –‘धरान यस्तो होस्, जहाँ पहाड पनि होस् र मैदान पनि ।’ उनी सङ्ग भएको अर्को योजना भनेको धरान–१४ लाई धरानको धार्मिक पर्यटनको ‘हब’ बनाउने, किनकि यहाँ धरान नामलाई चलायमान बनाउने दन्तकाली र पिण्डेश्वरी मन्दिर छ भने किरातहरूको आस्था जोडिएको बुढासुब्बा माङ्खिम पनि छ । यही सेरोफेरोमा किरात इतिहाससँग जोडिएको दरबार क्षेत्रलाई पर्यटनसँग जोड्ने योजना पनि उनी सङ्ग छ ।   
उनले ‘स्पिरिचुवल र फिजिकल कनेक्टिभिटी’को कुरा गर्दा उद्योग, शिक्षा र स्वास्थ्यलाई भुलेको भने होइन । केन्द्रीय प्रविधि क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ कलेज र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्तरोन्नति गरेर शैक्षिक तथा स्वास्थ्य केन्द्रको थलो बनाउने हुटहुटी छ । निर्वाचन क्षेत्रभित्र रहेका विभिन्न वन तथा  प्राकृतिक तालहरूलाई स्तरोन्नति गर्ने योजना छ । यसै गरी साहित्य, खेलकुद, सङ्गीत र नाट्य क्षेत्रको प्रवर्द्धनमा जोड दिने, खानेपानीको अभाव तथा सुकुम्वासी समस्यालाई व्यवस्थापन गर्ने योजना पनि बोकेर चुनावी मैदानमा रहेका छन् ।
अझ, धेरै त धरान–लेउती बहुउद्देश्यीय सुरुङ मार्गलाई राष्ट्रिय गौरवको योजनामा समावेश गर्ने लक्ष्य छ, जुन सुरुङ मार्गबाट तमोरको पानी ल्याउने योजना पनि छ । 
सुनसरी १ को भूगोललाई यति धेरै नजिकबाट हेर्न सक्नु र जोड्न सक्ने रणनीतिको तयारी गर्न के कुराले सक्षम बनायो त ? मनोज भन्छन्–‘म रैथाने हुँ नि त ! म धरान–१७ मा जन्मिएँ, हुर्किएँ, महेन्द्र कलेज धरानमै पढेँ र धरान–१७ मा दुई कार्यकाल वडाध्यक्ष भएँ ।’ तिलकबहादुर भट्टराई र कृष्णकुमारी भट्टराईको दोस्रो सन्तानकोरुपमा २०४० सालमा जन्मिएका मनोज भट्टराई धरान बसाइको साइनोमा बराजु पुस्ताको ‘लिगेसी’ छ । धरान–१७ मा धनकुटाको आँखिसल्लाबाट मनोजका बराजु सनमान भट्टराई धरान झरेका थिए, जसले झोडा फाँडेर घर बनाए ।
मनोजका एक दिदी, दुई बहिनी र एक भाइ छन् । अन्तरजातीय विवाह गरेका उनी तीन सन्तानका बुबा हुन् । मनोज भन्छन्–‘मलाई भोट दिनुहोस्, म भूगोल र मन जोड्ने पुलको काम गर्नेछु ।’