धरान : सर्दु खोला स्थित श्रम संस्कृति पार्कमा बज्ने व्यक्तिको स्तुति, भक्ति गान परिवर्तन गर्न धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्रविक्रम बेघाले निर्देशन दिएका छन् ।
उनले राष्ट्रको सम्पत्तिमा कुनै पनि व्यक्तिको भक्ति वा प्रशंसामूलक गीत बजाउनु उपयुक्त नहुने स्पष्ट पार्दै पार्कमा बज्ने गीत परिवर्तन गर्न निर्देशन दिएका हुन् ।
उनले बुधवार कर्मचारीहरूलाई पार्कमा राष्ट्रभक्ति पूर्ण, देशभक्तिपूर्ण तथा धरानको पहिचान झल्किने गीतहरू मात्र बजाउनुपर्ने निर्देशन दिँदै,निश्चित व्यक्तिको प्रशंसा वा भक्ति गाइएका गीतहरू सार्वजनिक पार्कमा बजाउनु अनुपयुक्त हुने बताए ।
उनले भने ‘पार्कमा राष्ट्रभक्ति गीत र धरानको नगर गान मात्र बजाउन निर्देशन दिएको छु ।’ प्रमुख बेघाले कर्मचारीहरूलाई पूर्व नगरप्रमुखले पुन गीत बजाउन दिएको निर्देशन मान्य नहुने । राज्यको सम्पत्तिमा कसैको भक्ति भाव नचल्ने कडा निर्देशन दिदैं भने ‘पहिला चल्थ्यो होला अव चल्दैन,अव उपमहानगरपालिकाको विधि विधान,ऐन कानुन अनुसार चल्छ कसैको दबाब चल्दैन ।’
पूर्व प्रमुख हर्क साम्पाङले मङ्गलवार फेसबुकमा कार्यवाहक प्रमुख बेघालाई खिसी टिउरी गर्दै लेखेका थिए “उपमेयरले मैले बनाएको, मेरो भिजन र मेरो अगुवाइमा बनाइएको श्रम संस्कृति पार्कमा मेरो गीत नबजाउने आदेश दियो रे, धराने जनताले मूल्याङ्कन गरुन्, मामाको घोडामा भान्जाको हीही ।’
साम्पाङले पुन आज बुधवार पार्कका कर्मचारीहरूलाई आफ्नै गीतहरू बजाउन कर्मचारीलाई अह्राएको थाहा पाएपछि प्रतिक्रिया दिँदै बेघाले पार्क सबै नागरिकको साझा सम्पत्ति भएकाले त्यहाँ व्यक्तिगत गीत बजाउन नहुने स्पष्ट पारेका हुन ।
उनले धरानको घण्टाघर वा सप्तरङ्गी पार्कजस्ता सार्वजनिक स्थानहरूमा पनि कुनै व्यक्तिको व्यक्तिगत गीत नबजाइने उदाहरण दिए । बेघाले श्रम संस्कृति पार्क उपमहानगरपालिकाको मातहतमा रहेको सार्वजनिक सम्पत्ति भएकाले त्यहाँ नगरपालिकाको नीति, नियम र निर्देशन अनुसार नै काम हुनुपर्ने स्पष्ट गरे ।
उनले भने ‘पूर्व नगरप्रमुख हर्क साम्पाङले सार्वजनिक ठाउँमा आफ्नो स्तुतिको गीत बजाउन अह्राउनु जायज हो की नाजायज भन्ने कुरा आम नागरिकले बुझ्ने विषय भएको छ ।’
देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको लगानी र श्रमबाट निर्माण भएको श्रम संस्कृति पार्क साझा सम्पत्ति भएकाले यसलाई कुनै व्यक्तिको प्रचार गर्ने थलो बनाउन नहुने बेघाले बताए ।
यस विषयलाई लिएर कुनै प्रकारको विवाद, भिडन्त वा नकारात्मक प्रचारतर्फ जानुभन्दा नीतिगत रूपमा समाधान खोज्नुपर्नेमा बेघाले जोड दिएका छन् ।
धरानको घण्टाघर मनोज मेन्याङ्बोको कार्यकालमा र सप्तरङ्गी पार्क ध्यानबहादुर राईको कार्यकालमा बनेको भए पनि त्यहाँ उनीहरूको व्यक्तिगत गीत कहिल्यै नबजाइने उदाहरण दिँदै सार्वजनिक स्थानको गरिमा जोगाउन व्यक्तिगत गीत बन्द गर्न निर्देशन दिएको कावा प्रमुख बेघाको बताए ।
पार्कमा पत्रकारलाई दुर्व्यवहार
सोही विषयमा पत्रकार रिर्पोटिङमा गएका पत्रकारलाई पार्कका कर्मचारी अस्मिता चाम्लिङले दुर्व्यवहार गरेका छन् । उनी हर्क साम्पाङ नगरप्रमुख हुँदा नियम विपरीत आफूखुसी करारमा राखिएको कर्मचारी हुन ।