धरान : धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्क साम्पाङले ‘सर्दु जलाधार क्षेत्र’ भनि रोक्का गर्न लगाएको साबिक वाँझंगरा ९क तथा घोपा ७ घ–ङ का जग्गा मालपोत कार्यालय धरानले जलाधार क्षेत्रमा नपर्ने स्पष्ट गर्दै लगत कट्टा फुकुवा प्रक्रिया अघि बढाएको छ ।
मालपोत कार्यालय धरानका अधिकृत विष्णु प्रसाद सिटौलाले २०८२ माघ १८ गते धरान उपमहानगरपालिकालाई पत्राचार गर्दै वाँझंगरा ९क तथा घोपा ७ घ–ङ क्षेत्रका कुनै पनि जग्गा सर्दु जलाधार भित्र नपर्ने स्पष्ट पारेका छन् ।
मालपोत कार्यालयले धरान उपमहानगरपालिका कार्यालयलाई लेखको पत्रमा जलाधार नाममा उक्त क्षेत्रका जग्गा लगत कट्टा नभएको उल्लेख गर्दै फुकुवाको प्रक्रिया अघि बढाइएको जनाएको छ ।
पत्रमा प्रशान्त घिमिरे सम्मिलित समितिको २०७८ वैशाख २९ गतेको प्रतिवेदन उद्धृत गर्दै साबिक वाँझंगरा ९क र घोपा ७घ–ङ का कुनै पनि जग्गा जलाधार क्षेत्रको नाममा लगतकट्टा भएको यस कार्यालयका साबिक निर्णयहरूबाट नदेखिएको ब्यहोरापनि उल्लेख छ ।
यसअघि तत्कालीन प्रमुख साम्पाङले २०८२ वैशाख १३ गते धरान–१३ वडा कार्यालयलाई पत्र पठाउँदै अदालतको आदेश नआएसम्म साबिक वाँझंगरा ९क तथा घोपा ७घ–ङ का जग्गामा कुनै पनि कर नलिन लिखित निर्देशन दिएका थिए । सो आदेशका कारण उक्त क्षेत्रका जग्गासम्बन्धी समस्या हालसम्म समाधान हुन सकेको छैन ।
पछिल्लो समय सामाजिक सञ्जालमा धरान–१३ को जग्गामा कर रोक्का हर्क साम्पाङले नगरेको भनी प्रचार भएपछि, धरान–१३ वडा कार्यालयले प्रमुख साम्पाङको हस्ताक्षरसहितको सो आदेश सार्वजनिक गरेको हो। उक्त पत्रमा ‘उक्त जग्गाहरू सर्दु–खर्दु जलाधारभित्र पर्ने मानिने भएकाले कुनै कर सङ्कलन नगर्नुहोस्। कसैले कर सङ्कलन गरेमा सम्बन्धित व्यक्ति स्वयं कानुनी दण्ड र जबाफदेही हुनेछन्’ भन्ने कडा निर्देशन दिइएका थिए ।
मालपोत कार्यालयको पछिल्लो स्पष्टीकरणले अब सम्बन्धित क्षेत्रका जग्गा फुकुवा प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने सरोकारवालाहरूले बताएका छन् ।