धरान : राज्यले कुनै ठुलो योजना ल्याउन आँट्यो भने जग्गा दलालहरू छेउछाउको जग्गा व्यापारमा लाग्ने देखिँदै आएको हो । कतिपय ठाउँमा निजी क्षेत्रको नाममा जग्गाकै व्यापारका लागि ठुलै योजनाको हल्ला चलाउँछन्  ।

धरानका मेयर हर्क साम्पाङले चिन्डे डाँडालाई पर्यटकीय स्थल बनाउन सुम्निमा पारुहाङको विशाल प्रतिमा निर्माण गर्ने अभियान सुरु गरेपछि मेयरका निकट सहयोगी दत्त लिम्बुको एउटा फेसबुक स्ट्याटस चर्चाको विषय बनेको छ ।

त्यसै आधारमा सामाजिक सञ्जालमा जग्गा व्यापार बढेको अनुमान गरिन थालिएको छ । दत्त लिम्बुले भने उक्त प्लटिङमा आफ्नो संलग्नता नभएको भन्दै सत्य रियल स्टेट कम्पनी प्रालीका सत्य गुरुङको आग्रहलाई मानेको बताएका छन् ।

उनको स्ट्याटसमा निर्माण स्थल देखि ५०० मिटर नजिकै २ बिघा जग्गा प्लटिङ गरिएको कित्ताकाटको नक्सा सहित विक्री खुल्ला गरिएको विज्ञापन छ । सत्य रियल स्टेट कम्पनी प्रालिको नाममा प्लटिङ बाहेक अन्य प्लटिङ तथा जग्गा कारोबार सार्वजनिक भएको छैन ।

उक्त विज्ञापनले चिण्डेडाँडामा प्रतिमा बनाउने योजना जग्गा प्लटिङको योजनापछि बनेको हो कि अघि बनेको हो भन्ने जिज्ञासासँगै त्यहाँ प्रतिमा बन्नु अघि जग्गा कारोबारको जगजगी बढेको देखिएको छ ।

पर्यटकीय स्थल बन्नु अघि सस्तोमा लिएको जग्गा प्लटिङ गरेर महँगोमा विक्री गर्ने विज्ञापनले स्थानीयबासी असन्तुष्ट बनेको छन् ।

स्थानीय बासिन्दा वडा २० का पूर्व जनप्रतिनिधि कर्ण तामाङका अनुसार सस्तोमा लिएको जग्गा प्लटिङ गरेर सुम्निमा पारुहाङको नाममा प्रति धुर ३ लाख रुपैयाँ कायम गरिएको बताए ।

हाल प्रतिमा राख्ने भनिएको ठाउँमा स्थानीयले बाटोको मापदण्ड निर्माण कार्य गर्न माग गर्दा ‘बाटोको विषयमा विवाद’ समेत भएको बताए । उनले भने, ‘अहिले भइरहेको प्लटिङ गैरकानुनी छ ।’

उनका अनुसार बालेन्द्र राई र राम राई सहितको टिमले बाहिङ्ग समाजको २ बिघा जग्गा खरिद गरी उक्त प्लटिङ गरेको हो ।

प्रतिमा बन्नु अघि जग्गाको कारोबार बढेकोले स्थानीय आदिवासी तामाङ समुदायमा उनीहरू विस्थापित हुन अवस्था आउने हो कि भनी असन्तुष्टि बढेको पूर्व जनप्रतिनिधि कर्ण तामाङ बताउँछन् ।

उनका अनुसार प्रतिमा बनाइने ठाउँ वरपर तामाङ समुदायको प्राचीन थलो हो । उक्त स्थानका स्थानीय बासिन्दासँग सुम्निमा पारुहाङको प्रतिमा राख्ने बारेमा कुनै छलफल गरिएन । यसबाट तामाङ समुदायसँग सामाजिक सद्भाव नराखिँदा उनीहरू असन्तुष्ट छन् ।

तामाङले, ‘चिन्डेडाँडा वरपर ९० प्रतिशत तामाङ समाजको बाहुल्यता रहेको छ ।’ अहिले सम्म तामाङ र राईको समावेशी समाज रहेको स्थानमा एकल जातीय आस्थाको प्रतिमा मात्र नभएर तामाङ समुदायको मर्म भावना समेट्न बौद्ध स्तुपा निर्माण गर्न मेयर साम्पाङलाई अनुरोध गरिएको उनले बताए ।

उनले भने, ‘स्थानीय सरकारको कार्य समावेशी हुनुपर्ने आग्रह हो ।’ निर्माण स्थलका स्थानीय लक्ष्मी तामाङले भने प्रतिमा स्थलमा ७ वटा घर रहेको र आफ्नो जग्गा नम्बरी र ऐलानी गरी ३ कट्ठा जग्गा रहेको बताइन् ।

उनले भनिन्, ‘जग्गा र टहरा सहितको उचित क्षतिपूर्ति नदिए जग्गा छोड्न तयार छैनौँ ।’ प्रतिमा स्थलमा पहिलो प्राथमिकता आफूहरूलाई दिनुपर्ने भन्दै पार्क वरिपरि व्यवसाय गर्ने गरी लिखित सहमति नभए जग्गा नछोड्ने उनले बताइन् ।

मेयर साम्पाङ एकपटक मात्र प्रस्तावित निर्माण स्थल आएको स्थानीयको भनाई छ । उनले स्थानीय सँग उचित समन्वय र छलफल नगरेको बाहिर बाहिरै प्रतिमा राख्ने कुरा आएको स्थानीयले बताए ।

तामाङले भनिन्, ‘युटुबरहरूले स्थानीयहरू सबै हर्षले गदगद भएको भनी नकारात्मक हल्ला फिँजाएका हुन्, त्यसमा सत्यता छैन ।’

सरकारी मापदण्ड अनुसार जग्गाको मूल्याङ्कन मान्य नहुने चलनचल्ती अनुसार दिए मात्र मान्य हुने स्थानीय तामाङको भनाई छ ।

अर्का स्थानीय पार्वती राईले भनिन्, ‘म ४५ वर्ष देखि यहाँ बसोबास गर्दै आएको छु, उचित क्षतिपूर्ति जग्गाको मूल्य र टहराको मूल्य चित्तबुझ्दो हुनुपर्‍यो ।’

प्लटिङ टिममा रहेका बालेन्द्र राईसँग फोन संवाद गर्दा राईले आफू सहित राम राई र जग्गाधनी बाहिक समाजकै एक सदस्य समेत रहेको बताए । उनले भने, ‘७ करोडमा जग्गा खरिद गरी मालपोत कार्यालय धरानबाट इजाजत लिई कित्ताकाट समेत गरेका हौँ ।’

दत्त लिम्बुलाई सम्पर्क गर्दा लिम्बुले आफूले प्लटिङ नगरेको बताए । उनले भने, ‘प्लटिङमा मेरो कुनै संलग्नता छैन साथीहरूले आफूलाई सहयोग गर्नु भनेकाले सहयोग गरेको मात्र हो ।’ सामाजिक सञ्जालमा मान्छेहरूले आफूलाई झुटो आरोप लगाएको दत्त लिम्बुको भनाई छ ।

बाहिङ्ग समाजले २०५२ सालमा समाधि स्थल बनाउनका लागि जम्मा ६ बिघा जग्गा खरिद गरिएको पुण्य राईले बताए । उनका अनुसार सबै जग्गा संस्थामा राख्ने भनेर २०६८ सालमा संस्था दर्ता गरेता पनि व्यक्तिको नाममा जग्गा रहन गयो ।

उनले भने, ‘संस्थामा योगदान गर्नेहरूको सहमति बिक्री गरियो कि कसरी बेच्यो के गरी बेच्यो थाहा भएन ।’

सुम्निमा पारुहाङको प्रतिमा

मेयर साम्पाङले चिन्डेडाँडामा सुम्निमा पारुहाङको प्रतिमा बनाउन देश विदेशमा रहेका नेपाली समुदायलाई आर्थिक सहयोग अभियान सुरु गरे यता हाल १ करोड ७० लाख रुपैयाँ समेत सङ्कलन भएको थाहा भएको छ ।

प्रतिमा बनाउन चैत्र १० गते धरान-१६ स्थित रङ्गशालामा सुम्निमा पारुहाङ निर्माणार्थ साङ्गतिक साँझ गर्ने भएका छन् । सुम्निमा पारुहाङको प्रतिमा बनाउन मेयर साम्पाङको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको छ ।

प्रतिमा निर्माण समितिका उपाध्यक्ष तथा किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राईका अनुसार प्रतिमा स्थल निर्माण गर्न सुम्निमा पारुहाङ प्रतिष्ठान नेपाल गठन भएको छ । प्रतिमा निर्माण गर्न ४४ देखि ४५ कठ्ठा जग्गा आवश्यक पर्ने र प्रतिमा ५० फिट माथि उचाइ र ९८ देखि १२० फिट लामो चौडाइ हुने हुनेछ ।

उनले स्थानीय जग्गा दाताहरूलाई प्राविधिक मूल्याङ्कन रकम निर्धारण गर्न पहल भएकोले भूगोल अनुसार जग्गाको मूल्य निर्धारण गरिने बताए । ३ कठा जग्गा स्वर्गीय लेखमणि जिमीका छोरा समुन्द राईले निःशुल्क दान गरी हस्तान्तरण समेत गरिसकेका छन् ।

Datta limbu status

Murari subedi status