धरान : फेसबुकमा स्ट्याटस लेखेकै भरमा क्युआरटी खारेज गरेको निर्णय नसच्याए श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङलाई क्यआरटी संयोजक ज्ञानु चाम्लिङले पार्टी भित्रको गोप्य विषय सार्वजनिक गर्ने चेतावनी दिएका छन् । 
साम्पाङले क्युआरटी खारेज गरेको स्ट्याटस लेखेपछि संयोजक चाम्लिङ सहित ३४ जना सदस्यले आपत्ति जनाउँदै संयुक्त विज्ञप्ती जारी गरेका थिए । लगत्तै पार्टी अध्यक्ष हर्क साम्पाङले फेसबुकबाट गरेको निर्णय नमाने पार्टीबाटै निलम्बन गर्ने चेतावनी दिँदै अर्को स्ट्याटस लेखेका थिए ।
क्युआरटी संयोजक राईले बुधवार सञ्चारकर्मीसँगको भेटघाटमा पार्टी नेतृत्वलाई सचेत गराउँदै पार्टीभित्रका विषय बाहिर ल्याउन आफूलाई बाध्य नपार्न आग्रह गरे ।
उनले भने ‘निर्णय सच्याइएन भने पार्टीभित्रका गोप्य विषय सार्वजनिक गर्नुपर्ने अवस्था आउन सक्छ ।’पार्टीभित्रका सबै कुरा बाहिरिए व्यक्ति मात्र होइन, पार्टी नै सङ्कटमा पर्न सक्ने बताउँदै उनले थपे ‘हेक्का रहोस्, पार्टी भित्रका कुरा बाहिर खोल्न बाध्य नपारियोस् ।’ 
संयोजक राईले आफू पार्टी कमजोर बनाउने पक्षमा नरहेको उल्लेख गर्दै नेतृत्वले एकल निर्णय गर्ने, कार्यकर्ताको भावना बेवास्ता गर्ने र पार्टीलाई विधि–विधानभन्दा बाहिरबाट सञ्चालन गर्ने प्रवृत्ति नरोके मौन बस्न नसक्ने बताए ।
उनले भने‘राष्ट्रिय पार्टी भइसकेपछि एकल निर्णयले पार्टी अघि बढ्दैन,सबैको भावना समेटेर विधि,विधान र प्रक्रिया अनुसार चल्नु पर्छ ।’ अध्यक्ष हर्क साम्पाङ वरिपरि रहेका केही व्यक्तिले उनलाई गलत सूचना दिएर पार्टीभित्र अविश्वासको वातावरण बनाएको संयोजक राईको भनाई छ ।
उनले प्रसाद राई र नवीन राईको नाम उल्लेख गर्दै उनीहरूको भूमिकाप्रति असन्तुष्टि जनाए । आफू अध्यक्षप्रति विश्वासघाती नभएको बताउँदै बिचका केही व्यक्तिका चम्चा गरी र चाप्लुसी गतिविधिका कारण पार्टीभित्र विवाद बढेको उनको भनाइ छ । 
सङ्गठन विस्तारदेखि पार्टी निर्माणसम्म आफूले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गर्दै राईले आफ्नो योगदानको उचित मूल्याङ्कन नभएको गुनासो पनि गरे। पार्टीका आर्थिक तथा साङ्गठनिक गतिविधिमा पारदर्शिता जरुरी भएको बताउँदै आवश्यक परे त्यस विषयमा बोल्ने बताए । 
उनले भने ‘पार्टी भित्रका सबै कुरा सार्वजनिक गरे व्यक्ति मात्र होइन, पार्टी पनि सकिन्छ, त्यसैले समयमै नेतृत्व सचिनुपर्छ ।’ तत्काल पार्टीभित्रका सबै विषय सार्वजनिक गर्ने पक्षमा आफू नरहेको पनि राईले बताए ।
संयोजक राईले पार्टीलाई सही दिशामा लैजान आफूले खबरदारी गरिरहेको बताउँदै पार्टी अझ बलियो बनाउन नेतृत्वले समयमै आत्म समीक्षा गर्न जरुरी भएको उनको भनाई छ ।