धरान : धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले कुर्सी उठाएर सांसद हर्क साम्पाङलाई प्रहार गरेको नक्कली चित्र बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने टेक बहादुर मगर मन’ पिठालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानले उनलाई फेसबुक मार्फत चरित्र हत्या गरेको आरोपमा पक्राउ गरेको जानकारी दिएको छ । 
मगरले उक्त चित्र एआईबाट तयार गरेको हो । तस्बिर फेसबुकमा सार्वजनिक भएपछि प्रहरीले साइबर अपराध सम्बन्धी अनुसन्धानका क्रममा मगरलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त सामग्रीले सम्बन्धित व्यक्तिको चरित्र हत्या तथा प्रतिष्ठामा आँच पुर्‍याउने प्रकृतिको देखिएपछि अनुसन्धान अघि बढाइएको हो । मगरमाथि साइबर अपराध सम्बन्धी कसुरमा अनुसन्धान हुने  प्रहरीले जनाएको छ।