धरान : कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले आफूलाई वडाध्यक्षले अश्लील शब्द प्रयोग गरी गाली गलौज गरेको आरोपका कारण उत्पन्न विवादले रोकिएको धरान उपमहानगरपालिकाको नगर सभा भोलि बिहीबार हुने भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार तोकिएको मितिमा नगर सभाबाट आर्थिक वर्ष २०८३÷०८४ को बजेट पास भएको छैन । वडाध्यक्षव्दयले आत्मालोचना गरेपछि कावा प्रमुखसँग जनप्रतिनिधिहरूबिच सहमति जुटेकोले नगर सभा हुने भएको हो ।  
धरान–१८ का वडाध्यक्ष प्रवीण राई र धरान–१५ का वडाध्यक्ष नरेश इवारमले आत्मालोचना गरेपछि बुधवार कार्यपालिका बैठक सुरु भएको थियो । बैठक एजेन्डामा प्रवेश गर्नुअघि दुवै वडाध्यक्षले यसअघिका विवाद र असहमतिप्रति आत्मालोचना गर्दै सहमति र सहकार्यबाट अघि बढ्ने प्रतिबद्धता जनाए । 
त्यसपछि कार्यपालिका बैठक नियमित एजेन्डामा प्रवेश गरेको थियो । सहमति जुटेसँगै अन्योलमा रहेको  नगर सभा बस्ने बाटो खुलेको हो । बैठकले आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम र बजेट  नगर सभामा प्रस्तुत गर्ने टुङ्गो लगाएको छ ।
साउन २२ गते आर्थिक विकास समितिको बैठकमा कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले वडाध्यक्षहरूमाथि अश्लील शब्द प्रयोग गरेको आरोप लगाएपछि विवाद चर्किएको थियो। वडाध्यक्षहरूले उक्त आरोप पुष्टि गर्न बेघालाई चुनौती दिँदै आएका थिए।
विवाद बढ्दै गएपछि निर्धारित नगर सभा नै अनिश्चित बनेको थियो। बुधवार कार्यपालिका बैठक बस्नुअघि राजनीतिक दलका संसदीय दलका नेता र कार्यवाहक नगर प्रमुखबिच सहमति जुटेपछि कार्यपालिका बैठक बसेको हो।
बैठकअघि धरान–१८ का वडाध्यक्ष प्रवीण राईले विवाद समाधानका लागि समन्वय गर्ने धरानका राजनीतिक दल, उद्योगी–व्यवसायी, पत्रकार तथा आम धरानवासीलाई धन्यवाद दिए। धरान–१५ का वडाध्यक्ष नरेश इवारमले स्थानीय तहभित्रको समस्या सामाजिक सञ्जालमा छताछुल्ल हुनु उचित नभएको बताए। 
कावा प्रमुख बेघाले पनि यसअघिका विवादित अभिव्यक्तिप्रति आत्मालोचना गर्दै कार्यपालिकामार्फत आम धरानवासीसँग क्षमा याचना गरिएको बताए। उनले भने, ‘हामी क्षमाप्रार्थी छौँ।’आत्मालोचनापछि कार्यपालिका बैठक नियमित एजेन्डामा प्रवेश गरेको थियो।