धरान : धरान उपमहानगरपालिकाको आर्थिक समितिको बैठकमा वडाध्यक्षले कावा नगर प्रमुखलाई अश्लील शब्दले गालीगलौज गरेको विवादमा ‘अश्लील शब्द’ बोलेको पुष्टि गर्न चुनौती दिएपछि कावा प्रमुख बेघाले उपमहानगरपालिकाको सबै कक्षमा अडियो/भिज्युअल सिसी क्यामरा जडान गराएका छन् ।

गत शुक्रवार बजेट सम्बन्धी बैठकमा कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघा र वडा अध्यक्षहरूबिच विवाद भएको थियो । विवादका बिच वडा १८ का अध्यक्ष प्रवीण राई र वडा १५ का अध्यक्ष नरेशकुमार इवरामले अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको कावा प्रमुख बेघाले आरोप लगाएका थिए ।

उपमहानगरपालिकाको लेटर प्याडमा लामो विज्ञप्ति समेत जारी गरिएको उक्त आरोपको प्रतिवाद गर्दै शनिवार १६ जना वडा अध्यक्ष, ७ जना कार्यपालिका सदस्यले उपमहानगरपालिका परिसरमा पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनीहरूले कार्यवाहक प्रमुख बेघाले बैठकमा आफूहरूमाथि अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको आरोप पुष्टि गर्न चुनौती दिए ।

कावा प्रमुख बेघाले गालीगलौज गरियो भनिएको बैठक उपमहानगरपालिकाको पुरानो बैठक कक्षमा भएको थियो । उक्त कक्षमा सीसी क्यामरा नभएको र बैठकको भिडियो पनि कसैले नखिचेकोले वास्तविक रूपमा विवादमा के भएको थियो ? सहभागीहरू बाहेक अरूलाई थाहा छैन ।

आरोप पुष्टि गर्न वडाध्यक्षहरूले दिएको चुनौतीको जवाफमा बैठकमा भएको भनिएको संवादको अडियो तथा भिडिओ रेकर्ड आफूसँग नरहेको कावा प्रमुख बेघाले बताएका छन् ।

प्रमाण नभएपछि कावा प्रमुख आफूलाई अश्लील गालीगलौज गरेको आरोप पुष्टि गर्न नसक्ने अवस्थामा छन् । तर फेरी बैठक बस्दा त्यस्तो घटना हुनसक्ने आशङ्का सहित सुरक्षाको दृष्टिले पनि सिसी क्यामेरा जडान गरिएको बेघाले बताए ।

आइतबार सञ्चारकर्मीसँग बेघाले भने ‘बैठकमा मैले बोलेका विषय र भएको गतिविधिको सत्यता प्रविधिबाट परीक्षण गर्न सकिन्छ ।’ तर तत्काल अडियो भिडिओ नभएकोले उनले नैतिकता नै ठुलो कुरा भएको उल्लेख गर्दै भने, ‘दुनियाँलाई ढाँट्न सकिन्छ, तर आफैँलाई ढाँट्न सकिँदैन, यो दुनियाँमा प्रविधि नै ठुलो भएछ ।’

कावा प्रमुखले थपे ‘त्यही प्रविधिको भरपर्दो प्रमाणका लागि शनिवारदेखि उपमहानगरपालिकाको सम्पूर्ण कार्यकक्षमा अडियो सहितको सीसी क्यामरा जडान गरेको हुँ।’

बेघाले बैठकमा कसले के बोलेको थियो भन्ने विषय आरोप-प्रत्यारोपबाट मात्रै निष्कर्षमा पुग्न नसकिने बताए । सबै विषयलाई प्रमाणका आधारमा मात्र नभई विवादको वास्तविकता पत्ता लगाउने गरी हेर्नुपर्ने उनको भनाइ छ।

‘एक-दुई जनाले ढाँट्न सक्छन्, तर सबैले ढाँट्न सक्दैनन्। हस्ताक्षर गर्ने सबैले हस्ताक्षर गरुन्, तर मैले त्यस्तो भनेको हो भने आज मसँग आएर भन्नुपर्छ,’ बेघाले भने ।

नगरसभाको पूर्वसन्ध्यामा बसेको आर्थिक समितिको बैठकमा सङ्कटग्रस्त सहकारी संस्थाको व्यवस्थापन तथा सहकारी पीडितको समस्या समाधानका लागि ५ करोड रुपैयाँ विनियोजन गर्ने विषयमा मतभेद भएको थियो। उक्त रकम बजेटमा राख्नुपर्ने अडान लिएपछि वडा अध्यक्षहरूसँग विवाद भएको बेघाले बताए ।

उनका अनुसार सहकारी व्यवस्थापन र पीडितको समस्या समाधानका लागि बजेट विनियोजन गर्ने विषयसँगै बजेटका अन्य शीर्षकमा समेत कार्यवाहक प्रमुख र वडा अध्यक्षहरूबिच मतभेद देखिएको छ।

बेघाले आफू बजेट निर्माण प्रक्रियामा एक्लो परेको दाबीसमेत गरे। ‘सबै वडा अध्यक्ष र कार्यपालिका सदस्यहरू एमाले-काँग्रेसका हुनुहुन्छ। त्यहाँ म मात्र एक्लो छु सबैले मलाई पोल्न खोजेका मात्र हुन ।’ उनले भने।

उनले सङ्कटग्रस्त सहकारी व्यवस्थापनका लागि बजेट राख्न नहुने र नदीजन्य पदार्थ तथा पार्क सञ्चालनमा ठेक्का लगाउनुपर्ने विषयमा वडा अध्यक्षहरूले अडान लिएको ख’लासा गरे ।

कावा प्रमुख बेघाले भने ‘सङ्कटग्रस्त सहकारी व्यवस्थापन गर्न हुँदैन, नदीजन्य पदार्थको ठेक्का र पार्क सञ्चालनको ठेक्का लगाउनुपर्छ भन्नुहुन्छ, तर विगत तीन वर्षदेखि खोला ठेक्का लागेको छैन, अहिले मैले ठेक्का लगाउँदिनँ भनेर भनेकै हुँ,।’ ठेक्का नलगाए पनि नदीजन्य पदार्थको व्यवस्थापन तथा पार्क सञ्चालन भइरहेको उनको दाबी छ ।