धरान : बिपी प्रतिष्ठान परिसर स्थित दिल्ली पब्लिक स्कुल डिपिएसमा हुने आर्थिक अनियमितता, विद्यार्थीमाथि मानसिक दबाब, दुर्व्यवहार भएको आरोप लगाउँदै धरान नगर बाल सञ्जालले तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई बिहीबार बुझाइएको निवेदनमा प्रतिष्ठानको हाताभित्र सञ्चालित डिपिएसमा विद्यार्थीबाट प्राप्त गुनासोका आधारमा गम्भीर आर्थिक अनियमितता र दुर्व्यवहारका आरोप बाहिर आएको उल्लेख ।
बाल सञ्जालले निवेदनमा प्राप्त भएको मितिले ७२ घण्टाभित्र छानबिन तथा कारबाही प्रक्रिया अघि नबढाए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
विद्यार्थीको हक, हित, सुरक्षा र न्यायका लागि शान्तिपूर्ण तथा लोकतान्त्रिक विधिबाट आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्दै निवेदनमा विद्यालयले प्रमाणपत्रबापत तोकिएको शुल्कभन्दा बढी रकम असुल गरी व्यक्तिगत बैङ्क खातामा जम्मा गर्न लगाएको दाबी गरिएको छ ।
डिपिएसले विद्यार्थीलाई बिक्री गरिएका पुस्तकको वास्तविक मूल्यमा हेरफेर गरी अतिरिक्त रकम असुलेको आरोप छ । त्यहाँका केही विद्यार्थीले आफूहरूमाथि मानसिक दबाब,दुर्व्यवहार तथा ह्यारासमेन्ट भएको गुनासो गरेको बाल सञ्जालले जनाएको छ।
यस्ता घटनाले विद्यार्थीको सुरक्षा, मानसिक स्वास्थ्य र बाल अधिकारमा प्रत्यक्ष असर पर्न सक्ने भन्दै तत्काल अनुसन्धान गर्न माग गरिएको छ । डिपिएसमा नाजायज शुल्क असुली र विद्यार्थीसँग दुर्व्यवहार सम्बन्धी घटना यसअघि पनि सार्वजनिक भएको थियो ।
प्रमाणपत्र तथा इक्विभ्यालेन्ट प्रक्रियामा अतिरिक्त शुल्क असुली, व्यक्तिगत क्युआर मार्फत रकम मागिएको र विद्यार्थीमाथि मानसिक दबाब दिइएको घटना समेत भएको निवेदनमा उल्लेख छ ।
बाल सञ्जालले शिक्षकबाट विद्यार्थीमाथि यौन दुर्व्यवहार भएको आरोप लगाएको छ । सम्बन्धित विद्यार्थीको पहिचान गोप्य राख्दै आरोपमाथि निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरिएको छ । प्रमाणपत्र, पुस्तक तथा अन्य शुल्क सम्बन्धी आर्थिक कारोबार छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्न आग्रह गरेको छ।
सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई धम्की दिने, मानसिक दबाब दिने वा चरित्रहत्या गर्ने प्रयासमा संलग्न व्यक्तिमाथि समेत अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाउन माग गरिएको छ। प्रतिष्ठानबाट हालसम्म भएको अनुसन्धान तथा कारबाहीको यथार्थ विवरण सार्वजनिक गर्न पनि बाल सञ्जालले माग गरेको छ।