इटहरी : १ महिनादेखी जारी लकडाउनको कारण उद्योगी व्यापारीहरू चिन्तित बनेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन घोषणा गरिएको लकडाउनले उद्योगी व्यापारी मारमा परेको उनीहरूको दुखेसो छ ।

उत्पादन र व्यापारको मुख्य समयमै उद्योग व्यवसाय बन्द गर्नुपर्ने स्थिति आएकोले समस्या भएको उनीहरू बताउँछन् । महिना दिन देखी उद्योग व्यवसाय बन्द हुँदा समेत सरकारले चासो नदिएको उनीहरूको गुनासो छ ।

Pawan-Sarada corrected

उद्योगधन्दा बन्द भएको यतीका समय बितिसक्दा समेत सरकार कानमा तेल हालेर बस्नु दुःखद भएको बताउँछन् मोरङ व्यापार सङ्घका पुर्व अध्यक्ष पवन सारडा ।

बैङ्कले ब्याज मिनाहा गर्ने अवस्था नरहेको र सरकारले पनि ब्याजदर घटाउने कुनै प्रक्रिया नथालेको हुँदा उद्योगीहरू चल्न सक्ने अवस्था नरहेको उनी सुनाउँछन् ।

‘बजारबाट पैसा उठेको छैन । निर्माण सामग्री उत्पादन गर्ने मुख्य समय नै उद्योग बन्द गर्नु परिरहेको छ । एक पैसाको आम्दानी छैन । अनि सरकार चाहिँ जसरी भए पनि कामदारको पैसा दिनुपर्छ भन्छ । हामीले कहाँ देखी ल्याएर दिनु पैसा ? सरकारले हामीलाई के दिएको छ ?,’ आक्रोशित हुँदै उनी भन्छन्,

‘अरू देशमा अनुदानको प्याकेज ल्याइसके । तर नेपाल सरकारले ब्याजदर घटाउने समेत निर्णय गरेको छैन । बैङ्कको पैसा दिएन भने कालो सुचीमा राख्छ । कोरोनाबाट बाचिन्छ होला तर बैङ्कको ब्याजले मार्ने अवस्था छ । सरकार आफ्नो जिम्मेवारीबाट भागिरहेको छ ।’

gokul-Shrestha
सारडाकै बिचारमा सहमत छन् उद्योग वाणिज्य सङ्घ दमकका अध्यक्ष गोकुल श्रेष्ठ । लामो समय व्यापार व्यवसाय बन्द हुँदा समेत सरकारले वास्ता नगरेको उनको भनाई छ ।

यस्तो बेला उद्योगीलाई मारेर राज्य समृद्ध नहुने उनको तर्क छ । राज्यलाई दुःख परेको बेला उद्योगी व्यापारीले सहयोग गरिरहेको अवस्थामा व्यापारीको पिडा पनि राज्यले बुझिदिनुपर्ने उनी बताउँछन् । बैङ्कको ब्याजले व्यापारी समस्यामा पर्ने भएकोले सरकारले व्यापारीलाई बचाउनुपर्ने उनको भनाई छ ।

‘कोरोना सङ्क्रमण सँगै रेमीट्यान्स घट्ने सम्भावना धरै छ । विदेशमा भएका धेरै नेपाली युवा स्वदेश फर्किन्छन् । त्यो बेला नेपालका उद्योग बन्द गर्नुपर्ने अवस्था आयो भने के हालत हुन्छ ।,’ उनी भन्छन्, ‘त्यसैले भविष्य सम्म सोच्ने हो भने र नेपालको अर्थतन्त्र बिग्रन नदिने हो भने उद्योगी व्यापारीलाई अनुदान वा ब्याजदर मिनाहाको व्यवस्था मिलाउनु पर्छ ।’

jeevan-parajuli

उता पर्यटन व्यवसायी जीवन पराजुली सरकारको लहैलहैमा लागेर घाटा भएको बताउँछन् ।

‘सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्‍यो । लगानीकर्ताहरूले बैङ्कमा ऋण गरेर नयाँ होटेलमा लगानी गर्न थाले । तर अहिले आएर होटेल व्यवसाय चौपट भएको अवस्था छ । बैङ्कको ब्याज कसरी तिर्ने ठुलो समस्या भएको छ ।

उनी भन्छन् , सरकारले आह्वान गर्दा जसरी व्यवसायीले सहयोग गरे अब व्यवसायीले घाटा हुँदा पनि सरकारले हेर्नुपर्छ । बैङ्कका ब्याज मिनाहा गरिदिए धेरै राहत हुन्छ । त्यही ब्याजले मार्ला भन्ने पो ठुलो पिर छ ।’

तत्काल अब लकडाउन खुल्ने अवस्था नभएको र खुलिहाले पनि होटेल तथा पर्यटन व्यवसाय चल्न नसक्ने उनको बुझाई छ ।

इटहरी होटेल व्यवसायी सङ्घका अध्यक्ष समेत रहेका पराजुलीले धेरै होटेलले मजदुरलाई खान दिन सक्ने अवस्था समेत नरहेको बताए । होटेल व्यवसायको लागी यो एउटा अत्यन्तै चुनौतीको समय भएकोले सरकारले अनुदान वा ब्याज मिनाहाको कार्यक्रम ल्याउला भन्नेमा उनी आशावादी छन् ।