धरान : सामाजिक कार्यको काम गर्ने टोल विकास संस्थाको गठन पुनर्गठन सहमतीय आधार भएको उत्तम हुन्छ । त्यसो हुन नसक्दा अपनाइने वैधानिक प्रक्रिया सबैले स्वीकार गर्ने गरी अपनाउनु राम्रो हो । 
धरान–५ फोकल्याण्ड टापु टिएलओको आइतबार भएको तेस्रो अधिवेशनमा भने सहभागी सदस्यहरूले असन्तुष्टि जनाएकोले ती दुवै कुरा हुन नसकेको पाइएको छ । 
अधिवेशनबाट तीर्थ भुजेल अध्यक्ष निर्वाचित भएका छन् । उनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको पनि चयन भएको छ । तर, सदस्यहरूले चुनाव प्रक्रिया विधि–विधान विपरीत भएको आरोप लगाएका छन् । 
चुनावी प्रक्रियामा पराजित अध्यक्षका प्रत्याशी दुर्गा शंकरले अधिवेशनमा गोप्य मतदानको सट्टा सदस्यको टाउको गनेर मत गणना गरिएको र बालबालिकालाई समेत सहभागी गराइएको उनीहरूले आरोप लगाएका हुन ।
उनले भने ‘टिएलओ सदस्यको सट्टा एउटै घरका पाँच, छ जना सम्मको सङ्ख्या गनेर मतदान गरियो ।’ उनका अनुसार ५–६ वर्षका बालबालिकालाई समेत मतदाताका रूपमा गणना गरिएको थियो।
फोकल्याण्ड टापुमा करिब २ सय टिएलओ सदस्य घरधुरी रहे पनि अधिवेशनमा करिब ४० घरका सदस्य मात्र सहभागी गराइएको शंकरको भनाइ छ। उनले गोप्य मतदान र सदस्यताको आधारमा मतदान गर्न माग गरे पनि बेवास्ता गरिएको बताए।
शंकरका अनुसार टाउको गनेर गरिएको गणनामा भुजेलले ४५ र आफूले ३५ मत पाएको घोषणा गरिएको थियो । मतदानको विवादबारे आयोजक पक्षका फणीन्द्र घतानिले भने ‘उपस्थित सख्याको मत गणना गरिएको हो ।’
उनका अनुसार जो उपस्थित छन् उनीहरूलाई गणना गरिएको हो । कसैलाई चित नबुझे वडा कार्यालयमा गएर उजुरी हाल्न पाउँछ । चुनावमा हार भएपछि विरोध गर्नु राम्रो होइन । उनले भने ‘बालबालिकाको पनि टाउको गनियो तर सदस्य हुन कि होइन्न मतलब भएन ।’ निर्वाचन समितिमा तीर्थ गजमेर,मदन घिमिरे,र सुरेश लिम्बू रहेका थिए ।