इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभामा बैठकमा मुख्यमन्त्री कार्कीलाई ५७ सांसदले समर्थन गरेका हुन् ।
नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १७ प्रदेशसभा सदस्यले कार्कीको पक्षमा मतदान गरे । ९३ सदस्यीय प्रदेशसभामा एक सांसदले राजीनामा दिएका छन् । ८३ सांसद उपस्थित बैठकमा नेपाली काँग्रेसका २९ मध्ये २२ सांसदले मात्र मतदानमा भाग लिएका थिए ।
राप्रपाका ४ जनाले मत दिन्न भन्ने पक्षमा मतदान गरेभने जनता समाजवादी पार्टीकी एक्ली प्रदेशसभा सदस्य निर्मला लिम्बु बैठकमा उपस्थित भइनन् ।
बैठकमा बोल्दे नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले वर्तमान प्रदेश सरकारको स्थायित्वका लागि आफ्नो दल सकारात्मक रहेको बताएका छन् । काँग्रेस प्रतिपक्षमा बस्ने भएकाले प्राविधिक रूपमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने भए पनि सरकारको आयुका विषयमा भने काँग्रेस स्पष्ट रहेको बताए ।
सरकारमा काँग्रेस साथमा रहेको तर गलत कार्यको आलोचना जारिराख्ने उनको भनाइ छ । नेपाली काँग्रेस यो सरकार ढल्नुपर्छ र अर्को बन्नुपर्छ भन्ने मान्यतामा नरहेको बताउँदै थापाले भने, ‘सरकार गिर्ने अवस्था आयो वा सङ्कटमा पर्यो भने हामी यसलाई टिकाएर पूर्ण कार्यकाल काम गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउँछौँ ।’






































































