इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५६ लाख जम्मा गर्ने भएको छ । भोटेकोसीको बाढी पीडितको लागि ५६ लाख २८ हजार ६ सय ५२ रुपैयाँ सहयोग घोषणा गरेको हो ।

हिसानका विभिन्न क्लस्टरमा रहेका कलेजहरूबाट उक्त रकम सङ्कलन भएको जनाइएको छ । इटहरी क्लस्टरबाट मात्रै ५२ लाख ९३ हजार ६ सय ४२,  धरान क्लस्टरबाट १ लाख ६० हजार १० रुपैयाँ र रामधुनी-इनरुवा क्लस्टरबाट १ लाख ७५ हजार रुपैयाँ सङ्कलन भएको हो ।

इटहरीको विश्व आदर्श एकेडेमीले सबैभन्दा बढी १२ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ। त्यसपछि सुष्मा सेकेन्डरी स्कुल एन्ड कलेजले ११ लाख २९ हजार ७ सय ५५ रुपैयाँ, ग्रीन पिस/इटहरी नमुना कलेजले ८ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र कस्तुरी कलेजले ८ लाख १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै कोशी सेन्ट जेम्स कलेजले ५ लाख ५० हजार, प्रिमियर कलेजले ३ लाख, लर्ड बुद्ध इन्टरनेसनल स्कुलले १ लाख ५५ हजार, पूर्वाञ्चल सेकेन्डरी स्कुलले १ लाख १५ हजार र सीबी रेसिडेन्सियल सेकेन्डरी स्कुलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरे ।

धरान क्लस्टरमा धरान सेकेन्डरी स्कुलले सबैभन्दा बढी ७५ हजार रुपैयाँ कोषमा दिएको छ । त्यसपछि सुनाखरी एकेडेमीले २० हजार १०, धरान आदर्श सेकेन्डरी स्कुलले २० हजार, सियोन इन्टरनेसनल स्कुलले २० हजार, विष्णु मेमोरियल स्कुलले १५ हजार र युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुलले १० हजार रुपैयाँ उपलब्ध गराएका छन् । 

रामधुनी–इनरुवा क्लस्टरमा लर्ड बुद्ध इन्टरनेसनल स्कुलले १ लाख ५५ हजार र आरम्भ विद्या मन्दिरले २० हजार रुपैयाँ सहयोग गरेका छन् ।