धरानः ज्येष्ठ नागरिकमा अस्टियोपोरोसिस भनिने हड्डी कमजोर हुने समस्याको पहिचान र उपचारका  लागि धरानमा रोटरी क्लब अफ घोपाले निःशुल्क शिविर आयोजना गरेको छ । 
धरान उपमहानगरपालिका, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यमा सञ्चालन गरिने बुधवार पत्रकार सम्मेलनमा क्लबले जनाएको छ । उच्च जोखिममा रहेका धरानका करिब १ हजार जना ज्येष्ठ नागरिकको प्रारम्भिक स्क्रिनिङ गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा बताइएको छ।
शिविरमा ५५ वर्ष वा सोभन्दा माथिका महिला तथा ७० वर्ष वा सोभन्दा माथिका पुरुषको हड्डी परीक्षण गरिनेछ। हड्डीको घनत्व परीक्षण स्क्यानर डेक्सिटोमिटर प्रविधिबाट उपचार गरिने छ। परीक्षण सेवा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपलब्ध रहेको क्लबले जनाएको छ।
क्लबका अनुसार वृद्धावस्थामा देखिने दीर्घकालीन स्वास्थ्य समस्यामध्ये अस्टियोपोरोसिस महत्त्वपूर्ण समस्या हो। यसले कम्मर, ढाड तथा नाडीको हड्डी भाँचिने जोखिम बढाउनुका साथै दीर्घकालीन दुखाइ, अपाङ्गता, परिवारमा निर्भरता र उपचार खर्चसमेत बढाउन सक्छ।