धरान : भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा आवश्यक सहयोगका लागि नेपाली कम्युनिस्ट पार्टी धरान उपमहानगर समितिले राहत सङ्कलन गर्ने भएको छ ।
पार्टीका धरान संयोजक सिपी बजगाईँका अनुसार राहत सङ्कलन अभियान सञ्चालन कार्यक्रम भदौ ११ गते बिहान ११ बजे धरानको सिंहदेवी चोकबाट हुनेछ ।
बाढी प्रभावित नागरिकलाई तत्काल सहयोग उपलब्ध गराउने उद्देश्यले राहत सङ्कलन अभियान सञ्चालन गर्न लागिएको उनले बताए । अभियानमा सहभागी हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई आग्रह गरिएको छ । 
पार्टीका नगर पदाधिकारीको अनौपचारिक छलफलपछि राहत सङ्कलन कार्यमा सहभागी हुन आह्वान गरिएको हो। पार्टीले केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य, नगर सदस्य, टोल सदस्य तथा सङ्गठित सदस्यलाई कार्यक्रममा उपस्थित हुन सूचना जारी गरेको छ ।