धरान : रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना लागि फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले ५० लाख रुपैयाँभन्दा बढीको सहयोग उपलब्ध गराएको छ ।

एसोसिएसनका अनुसार बाढीबाट ठुलो जनधनको क्षति भएपछि आफ्ना सदस्यहरूलाई प्रभावित नागरिकका लागि सहयोग गर्न आह्वान गरिएको थियो । सोहीअनुसार सदस्यहरूबाट नगद तथा जिन्सी गरी ५० लाख रुपैयाँभन्दा बढीको सहयोग जुटाएर उपलब्ध गराइएको हो ।

बाढीका कारण प्रभावित क्षेत्रमा नागरिकहरू खाली खुट्टा हिँड्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले सङ्घका सदस्यहरूबाट जुत्ता चप्पलसमेत सङ्कलन गरिएको एसोसिएसनले जनाएको छ । सङ्कलितमध्ये हालसम्म १५ हजार जोर जुत्ता–चप्पल सम्बन्धित सरकारी निकायलाई राहतका रूपमा हस्तान्तरण गरिसकिएको छ ।

एसोसिएसनले राहत सामग्री वितरण गर्ने सरकारी संयन्त्रबाट प्रभावित क्षेत्रमा आवश्यक जुत्ता चप्पलको विवरण उपलब्ध भएमा सोहीअनुसार थप सामग्री उपलब्ध गराउन आफूहरू तयारी अवस्थामा रहेको जनाएको छ ।

एसोसिएसनका महासचिव निर्मल भट्टराईद्वारा जारी विज्ञप्तिमा बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

Footware PR