धरान : धरान भित्रिँदै गरेका जय नेपाल र दिव्येश्वरीको पिउने पानीको १४५ जारहरू मापदण्ड विपरीत लेबल नभएको,जार पुरानो, फोहोर तथा कुच्चिएको भेटिएपछि अनुगमन टोलीले नष्ट गरिदिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, डिभिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त अनुगम टोलीले बुधवार धरान प्रवेशको मुख्य नाका तीनकुनेमा गरेको अनुगमनका क्रममा फेला पारेको जारहरू नष्ट गरेको हो ।
टोलीले अनुगमनका क्रममा समस्या देखिएपछि जय नेपाल जल उद्योग र दिव्येश्वरी जल उद्योगलाई जरिवाना समेत गरिएको जनाएको छ ।
अनुगमनका क्रममा इटहरी–२० स्थित जय नेपाल जल उद्योगका ११० वटा र दिव्येश्वरी जल उद्योगका ३५ वटा गरी १४५ वटा जार नष्ट गरिएको प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटाले बताए ।
उनका अनुसार जारमा लेबल नलगाइएको, सिल नगरिएको तथा केही जार पुराना र प्रयोग गर्न नमिल्ने अवस्थामा भेटिएपछि जारभित्रको पानीसमेत नष्ट गरिएको हो । महाशाखा प्रमुख सापकोटाले भने ‘दुवै उद्योगलाई ५/५ हजार रुपैयाँका दरले कुल १० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य अधिकृत रोशन मण्डलले लेबल नहुँदा पानी कुन उद्योगले उत्पादन गरेको हो,उत्पादन मिति तथा अन्य आवश्यक विवरण उपभोक्ताले थाहा पाउन नसक्ने बताए ।
उनले भने ‘लेबल नभएपछि पानी गुणस्तरीय हो भनेर भन्न सकिँदैन, लेबल विहीन तथा गुणस्तर सम्बन्धी गम्भीर समस्या देखिएकाले दुवै उद्योगलाई कारबाही हुन्छ ।’ मण्डलका अनुसार पानीको गुणस्तरसम्बन्धी थप परीक्षण गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ ।
अनुगमन टोलीले पानी बोकेर आएका सवारीका कर्मचारीलाई पुराना तथा लेबलविहीन जारमा पानी बिक्री नगर्न निर्देशन दिएको छ। प्रयोग गर्न मिल्ने तर लेबल नभएका जारमा लेबल लगाएर मात्र बिक्री गर्न निर्देशन दिई फिर्ता पठाइएको छ।
अनुगमन गरिएका दुवै उद्योगका पानी बोकेर आएका सवारीलाई धरानमा पानी आपूर्ति गर्न नदिई नष्ट गरिएको थियो। जय नेपाल जल उद्योगलाई आवश्यक सुधार गरी लेबल लगाएर मात्र बजारमा विक्री गर्न निर्देशन दिइएको छ।
दिव्येश्वरी जल उद्योगमा दिनेश भट्टराई केयरटेकरका रूपमा कार्यरत रहेको र अम्बिका खनाल सीईओ रहेको जनाइएको छ। जय नेपाल इटहरीका प्रोप्राइटर अचित राई हुन ।
धरान उपमहानगरपालिकाका कावा प्रमुख अइन्द्रविक्रम बेघाले अनुगमन उद्योगी–व्यवसायीलाई दुःख दिने वा आतङ्कित बनाउने उद्देश्यले नभएको बताए।
उपभोक्ताको स्वास्थ्यको हितमा तथा बजारलाई अनुशासित र मर्यादित बनाउन अनुगमन गरिएको उनको भनाइ छ। सरकारले तोकेको मापदण्डअनुसार पिउने पानी उत्पादन तथा बिक्री–वितरण गर्न व्यवसायीलाई उनले आग्रह गरे।