धरान : बालेन सरकारका स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मंगलबार वीपी प्रतिष्ठानका अस्पताल निर्देशक, शिक्षाध्यक्ष र रजिस्ट्रार पदमा नयाँ पदाधिकारी नियुक्ति गरेकी छन् ।

प्रतिष्ठानका उपकुलपति प्राडा. स्मृति कार्कीको सिफारिसमा अस्पताल निर्देशकमा डा. इन्द्रकुमार लिम्बू शिक्षाध्यक्षमा प्राडा. शिवेन्द्र झा र रजिस्ट्रारमा धरणीधर बराल नियुक्त भएका हुन ।

बालेन सरकार गठन भएपछि प्रतिस्पर्धाको आधारमा नयाँ पदाधिकारी नियुक्त गर्ने नीति अनुसार प्रतिष्ठानका सबै पदाधिकारी हटाइएका थिए। खाली भएको पदाधिकारीको पदमा नियुक्तिका लागि पहिलो पटक प्रतिष्ठान भित्र र बाहिरका शिक्षाध्यक्षमा ४ जना, रजिस्ट्रारमा १८ जना र अस्पताल निर्देशकमा १४ गरी जम्मा ३६ जना थिए ।

उक्त आवेदकहरू मध्ये बाट छनौट १४ जनाको संक्षिप्त सूची पुनः सार्वजनिक गरिएको थियो । नयाँ नियुक्त ३ पदाधिकारी त्यसै मध्येबाट नियुक्त भएका हुन।

अस्पताल निर्देशकमा नियुक्त लिम्बू यसअघि डेपुटी अस्पताल निर्देशक तथा निमित्त अस्पताल निर्देशक थिए । उनी कलेज अफ डेन्टलको प्रोस्थोडोन्टिक्स विभागका एसोसिएट प्रोफेसर हुन ।

शिक्षाध्यक्षमा नियुक्त झा प्रतिष्ठानको फरेन्सिक मेडिसिन विभागका विभागीय प्रमुख हुन । उनी यसअघि शैक्षिक डिनका पद सम्हालेका थिए । रजिस्ट्रार बराल प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनमा एसोसिएट प्रोफेसर हुन ।

प्रतिष्ठानमा पदाधिकारी नियुक्त भएसँगै शैक्षिक गुणस्तर, प्रशासनिक व्यवस्थापन र अस्पताल सेवा सुधार हुने अपेक्षा गरिएको छ । लामो समयदेखि देखिएका प्रशासनिक समस्या समाधान गर्दै सेवा प्रवाह प्रभावकारी बनाउन नवनियुक्त पदाधिकारीका लागि प्रमुख चुनौती विद्यमान छ ।