विराटनगर : सार्वजनिक स्थलमा विद्यालय पोसाकमा रहेका युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा मोरङ प्रहरीले शुक्रवार दुई युवकलाई पक्राउ गर्यो । जिल्ला प्रहरी कार्यालय मोरङले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओका आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा विराटनगर ४ का ३५ वर्षीय महेशकुमार मण्डल र बारा परवानीपुर १ घर भई विराटनगर बस्दै आएका ३३ वर्षीय अखिलेश कुमार प्रसाद छन् । उनीहरूलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्न ३ दिनको म्याद थप गरिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार विराटनगर ९ महेन्द्रचोक सडकमा विद्यालय पोसाकमा हिँडिरहेका दुई युवतीलाई मोटरसाइकलमा सवार दुई पुरुषले अभद्र व्यवहार गरेको देखिने भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले तत्काल कारबाही अघि बढाएको हो।
आरोपित युवकका आफन्तले भने भिडिओ अभद्र व्यवहार जस्तो देखिएका घटना यथार्थमा नियतवश अभद्र व्यवहार नभएको दाबी गरेका छन् ।
शुक्रवार साँझ करिब ६ बजे दुई युवती कलेजबाट घर फर्किँदै थिए। उनीहरू आपसमा कुराकानी गर्दै हिँडिरहेका बेला मोटरसाइकलमा आएका व्यक्तिले हातले जेब्रा क्रसिङतर्फ इशारा गरेका थिए। त्यसपछि मोटरसाइकलमा रहेका व्यक्ति आफ्नो बाटो लागेका थिए भने युवतीहरू पनि आफ्नो बाटो लागेको पीडित विद्यार्थी निकटवर्ती श्रोतको भनाई छ ।
युवतीहरूले मोटरसाइकलमा रहेका व्यक्तिलाई खासै ध्यान दिएका थिएनन् । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि मात्रै उनीहरूले आफूहरूसँग सम्बन्धित घटना भएको थाहा पाएको स्रोतले जनाएको छ।
घटनाको भोलिपल्ट शनिवार दुवै युवती जिल्ला प्रहरी कार्यालय मोरङ पुगेर प्रहरीसमक्ष बयान दिएका छन् । बयानमा उनीहरूले घटनालाई आफूहरूमाथि भएको अभद्र व्यवहारका रूपमा नबुझेको बताएको श्रोतले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार, यो मुद्दा पीडितको उजुरीबाट नभई प्रहरी प्रतिवेदनका आधारमा अघि बढाइएको हो । सामाजिक सञ्जालबाट भिडियो प्राप्त भएपछि महिला तथा बालबालिका सम्बन्धी विषयमा प्रहरी संवेदनशील हुने भएकाले तत्काल कारबाही अघि बढाइएको उनले बताए ।
घटनाबारे सोधपुछ गर्नेभन्दा पक्राउ गरेर अनुसन्धान अघि बढाउनुको कारणबारे प्रश्न गर्दा डिएसपी मिश्रले महिला तथा बालबालिका सम्बन्धी विषयको संवेदनशीलता र विगतमा यस्ता दुर्व्यवहार तथा चेन स्न्याचिङजस्ता घटना हुने गरेको अनुभवका कारण दुवै जनालाई नियन्त्रणमा लिइएको बताए।
दुई युवक पक्राउ परेपछि सामाजिक सञ्जालमा यस घटनालाई लिएर विभिन्न प्रतिक्रिया आएका छन्। भिडिओ हेरेपछि पक्राउ परेका युवकहरूको भूमिकामाथि प्रश्न उठाउँदै उनीहरू दोषी नरहेको हुनसक्ने धारणा राख्नेहरू पनि देखिएका छन्।








































































