सुनसरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।

विभागीय मूल्य मान्यता तथा आदेश निर्देशनको पालना गर्दै उच्च मनोबल, साहस र कर्तव्यनिष्ठाका साथ जिम्मेवारी निर्वाह गरेको मूल्याङ्कन गर्दै हमाललाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो।

साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा विभिन्न समुदायका व्यक्तिहरूबिच भएको झडपपछि उत्पन्न हिंसात्मक तथा ध्वंसात्मक परिस्थितिलाई नियन्त्रणमा लिन डीएसपी हमालको कमाण्डमा प्रहरी परिचालन गरिएको थियो। साउन २७ गतेसम्म संवेदनशील क्षेत्रमा प्रहरी परिचालन, निगरानी तथा निषेधाज्ञा र कर्फ्यु प्रभावकारी रूपमा कार्यान्वयन गर्दै उनले शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

प्रहरी परिचालन र स्थानीय तहसँगको समन्वयमार्फत सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा हुन सक्ने आगजनी, तोडफोड तथा थप जनधनको क्षति रोक्न सफल भएको प्रहरी कार्यालयले जनाएको छ। घटनामा मृत्यु भएका व्यक्तिहरूको दाहसंस्कारका क्रममा समेत आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको थियो।

त्यसैगरी, डीएसपी हमालको नेतृत्वमा इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानबाट ब्राउन सुगर २३.१३ ग्रामसहित उल्लेख्य सङ्ख्यामा लागूऔषध कारोबारी पक्राउ गरिएको थियो। विभिन्न स्थानबाट भन्सार छली ल्याइएका कपडा तथा खाद्यान्नलगायतका सामग्रीसमेत बरामद गरी भन्सार कार्यालय सुनसरीमा दाखिला गरिएको थियो।

प्रहरी सङ्गठनले दिएको जिम्मेवारीलाई अनुशासित, व्यावसायिक र कर्तव्यनिष्ठ ढङ्गले निर्वाह गर्दै नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने तथा प्रहरी सङ्गठनको गरिमा अभिवृद्धिमा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै डीएसपी हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो।