धरान : धरान–८ स्थित नयाँ बसपार्कको प्रवेश मार्ग अवरुद्ध गर्न खोज्ने चार जनालाई आज बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ।
भानु चोकबाटै यात्रु चढाउन र ओराल्न पाउनुपर्ने माग गर्दै बिहीबार यातायात व्यवसायी तथा मजदुरले नयाँ बसपार्क अवरुद्ध गर्ने प्रयास गरेका थिए। 
उनीहरूले बसपार्कको बाटो अवरुद्ध गर्न खोजेपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएअनुसार पक्राउ पर्नेमा धरान–८ बस्ने ४४ वर्षीय नम्रता गुरुङ, इटहरी–३ बस्ने २९ वर्षीय निरज नेपाल, इटहरी–३ कै मुकेश चौधरी र विराटनगर–१ का बाबुराम दाहाल रहेका छन्।
यसैबिच,यातायात व्यवसायीले विरोध प्रदर्शन गरिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली परिचालन गरिएको बताइएको छ । 
धरानको भानु चोकबाट यात्रु चढाउने–ओराल्ने विषयलाई लिएर केही समयदेखि यातायात व्यवसायी र नयाँ बसपार्क व्यवस्थापनबिच विवाद हुँदै आएको छ। 
बिहीबारको प्रदर्शनका क्रममा अवस्था नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको हो।