धरान : धरानकी कोरोना सङ्क्रमित महिला तीन महिना अघि भारतको दिल्लीबाट आएको बताइएको छ ।

उनको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनको श्रीमानमा आन्द्राको क्यान्सर भएकोले उपचारका लागि लामो समय दिल्ली बसेका थिए । तीन महिना अघि फर्किएका उनी धरान बाहिर कहीँ कतै नगएको तर तरकारी किनमेलका लागि घर नजिकैको तरकारी पसलमा भने गएको उनले बताएकी छिन् ।

श्रीमानको फलोअपका लागि काठमाडौँ जान भनेर हिजो प्रतिष्ठानको ओपिडीमा गएर स्वास्थ्य परीक्षण गरेका थिए । दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा श्रीमतीको कोरोना पोजेटिभ र श्रीमानको रिपोर्ट नेगेटिभ आएको हो ।
उनी धरानको एक निजी विद्यालयको प्रिन्सिपल रहेको पनि खुलेको छ ।

लकडाउन यता उनी आफ्नो विद्यालयमा नगएको र अरू शिक्षक र विद्यार्थी सँग भने भेटघाट नभएको एक जना शिक्षकले कपुरी न्युजलाई बताए । वडाध्यक्ष काफ्लेका अनुसार सङ्क्रमित महिला दुई आमाजूको परिवारमा आउजाउ गर्ने, घर नजिकैको तरकारी पसले, दूध बेच्ने, मोटरसाईकलमा सब्जी डुलाउने र घरमा भाडामा बस्नेसँग प्रत्यक्ष सम्पर्कमा रहेका थिए ।

सङ्क्रमितलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा राखिने बताइएको छ । शिवधाराबासी महिलामा सङ्क्रमण देखिएपछि अहिले सङ्क्रमितको घर आसपासको क्षेत्र शिव धारा चौक देखि धनकुटे रोड निस्किने बाटो धनकुटे रोड सम्म सिल गरिएको छ । भोलि बिहान १३ नम्बर वडाले पुरै वडा नै सिल गर्ने तयारी गरेको अध्यक्ष काफ्लेले बताएका छन् ।