धरान : धरान-१३ शिवधाराकी कोरोना संक्रमित ५२ बर्षिय महिलालाई अहिले सम्म अस्पताल लगीएको छैन ।

धरान उपमहानगरपालिकाले धरानमा कोभिड-१९ को पुरा तयारी गरेको बताईरहदा हिजो साँझ ५ बजे कोरोना संक्रमित पुष्टि भएकी महिलालाई बोक्ने धरानमा एउटा पनि एम्वुलेन्स नहुदा राति घरमै राख्नुपरेको धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए ।

प्रतिष्ठान जस्तो ठुलो अस्पतालमा एम्वुलेन्स नहुनु र धरान उपमहानगरपालिकाका मेयर र उपमेयर दुवैले फोन नउठाउनु धरानबासी कोरोना संक्रमित हुँदाको दुर्दशा यस्तै हुनेरहेछ भन्दै उनले आक्रोश पोखे ।

'बिहान सम्म पनि एम्वुलेन्स आउने नआउने बारेमा कुनै जानकारी नआएको र सिल गरिएको क्षेत्र बाहिर वसेर आफ्नो वडावासीलाई सान्त्वना दिदै गरेको अवस्थामा छु' अध्यक्ष काफ्लेले भने ।

धरान जस्तो सुविधा सम्पन्न शहरमा एउटा कोरोना संक्रमित बोक्ने एम्वुलेन्स नहुने रहेछ भने दुरदराजको गाँउको अवस्था के होला ? अध्यक्ष काफ्लेले प्रश्न गरे ।