धरान :  नेपाली कांग्रेसले धरान उपमहानगरपालिका वडा नं. ११ मा १२०० केजी चामल सहयोग गरेको छ ।

कांग्रेसको ११ नं. वडा कार्यसमितिले संकलन गरेको १२ सय के.जी. चामल वडा कार्यालयलाई हस्तान्तरण गरेको हो । कांग्रेसद्वारा संकलीत राहत सामाग्री बुझ्दै ११ का वडा अध्यक्ष बाबुलाल लामाले वडामा हाल राहतको अभाव भईरहेको अवस्थामा जिम्मेवार पार्टीको भूमिका निर्वाह गर्दै दुःख गरेर राहत संकलन गरी वडालाई प्रदान गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

राहत हस्तान्तरण कार्यक्रममा पार्टीका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, राहत वितरण तथा अनुगमन समितिका सदस्य उमेश थापा, आमन्त्रित क्षेत्रीय सदस्य अरुण कटवाल, नगर सचिव श्याम पोखरेल, सदस्य हरी थापा, पंचकला राई, तरुण दल नगर सदस्य विक्रम तामाङ लगायतको उपस्थिति रहेको थियो ।

धरान उपमहानगरपालिकाको एकद्वार नीतीलाई अवलम्वन गर्दै उपमहानगरपालिकासंग समन्वय गरी वडा कार्यालयलाई राहत हस्तान्तरण गरिएको वडा सभापति लोकेन्द्र फागोले बताए ।

उनले पार्टीका जिल्ला, क्षेत्र, नगर सबै तहका नेताहरु साथै विभिन्न दाता महानुभावहरुको सहयोगमा राहत संकलन गरिएको बताउंदै सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे ।