धरान : धरानका खेलाडीलाई प्रोत्साहनका लागि सम्मान, पुरस्कार पदक वितरण गर्न धरान स्पोर्टस् फोरमले ‘धरान खेलकुद अवार्ड’ आयोजना गर्ने भएको छ।
खेलकुद अवार्डमा धरानमा रहेर खेलकुद क्षेत्रमा योगदान पुर्याएका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिने शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । फोरमले असोज १२ गते सोमबार अवार्ड कार्यक्रम आयोजना गर्दैछ ।
फोरमका अनुसार धरानका विभिन्न खेल विधाका उत्कृष्ट खेलाडी, प्रशिक्षक, रेफ्री तथा प्राविधिक व्यक्तित्वलाई सम्मान गरिनेछ। यस्तै, चर्चित १० खेलाडीमध्ये ‘धरान स्पोर्टस् पब्लिक च्वाइस’ मार्फत पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई समेत पुरस्कृत गरिनेछ।
खेलाडीलाई सम्मानसँगै खेलकुदको व्यवसायीकरण र खेलाडीका लागि रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले स्थानीय तह, उद्योगी,व्यवसायी तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्ने फोरमले जनाएको छ।
खेलकुदलाई धरानको पहिचान र आर्थिक गतिविधिसँग जोड्दै खेलाडीको दीर्घकालीन भविष्य सुनिश्चित गर्न पहल गरिने फोरमको भनाइ छ।








































































