धरान : कोसी प्रदेश सरकारकी पर्यटन, बन तथा वातावरण मन्त्री खिनु लङवा लिम्बुले प्रदेश सरकार लामो समय देखी रोकिएको भाषा आयोगको सिफारिस लागु गर्न लिम्बु र मैथिल भाषालाई सरकारी कामकाजको भाषा घोषणा गर्ने तयारीमा रहेको बताएकी छन् ।
लिम्बु पत्रकार सङ्घको धरानमा आज शनिवार आयोजित २२औँ स्थापना दिवसमा प्रमुख अतिथि मन्त्री लङवाले भनिन् ‘सरकार विधेयकलाई कानुनको रूप दिने तयारी भइरहेको छ ।’
समारोहमा अघिल्ला वक्ताहरूले भाषा आयोगको सिफारिस अनुसार लिम्बु र मैथिल भाषालाई सरकारी कामकाजको भाषा घोषणा गराउन यसअघि मन्त्री लङवाले प्रयास गरे पनि सफल नभएकी बताउँदै प्रदेश सरकारको नियत कामकाजको भाषा बनाउने नरहेको आशङ्का व्यक्त गरेका थिए ।
सोही प्रसङ्गमा मन्त्री लङवाले आफूले २ पटक सरकारी कामकाजको भाषा घोषणा गराउने प्रयास गरेको स्मरण उल्लेख गर्दै भनिन् ‘अल्झिएको विधेयक यसपालि कानुन बन्छ, तपाईँहरू आशावादी बन्नु होस ।’
उनले प्रदेश सभामा पहिले दर्ता रहेको विधेयक माथि संशोधनको लागि भइरहेको छलफल अन्तिम अवस्थामा पुगेको बताइन् । मन्त्री लङवाले भनिन् ‘सामाजिक विकाश समितिमा विधेयक माथि भइरहेको छलफल अन्तिम अवस्थामा छ ।’
लिम्बु पत्रकार सङ्घले मनाएको स्थापना दिवसले पत्रकारिता क्षेत्रमा लिम्बु प्रतिभाहरूलाई हौसला बढाउने कार्य गरेको मन्त्री लङवाले बताइन् । उनले भनिन् ‘लिम्बु समुदायका भाषिक, सांस्कृतिक र इतिहासका सवालहरूलाई मुखरित गर्ने कार्यमा लिम्बु पत्रकारहरूको महत्त्वपूर्ण योगदान रहेको छ ।’
सङ्घका केन्द्रीय सल्लाहकार वरिष्ठ पत्रकार हर्ष सुब्बाले मिडियामा पहुँच नपुगेको गुनासो गर्दै आएका आदिवासी जनजाति समुदायको लागि डिजिटल मिडियाको सामाजिक सञ्जालका कारणले सञ्चारमा पहुँच बढाए पनि उनीहरूको पहिचान, अधिकारको मुद्दा नयाँ मिडियाले मुखरित नगरेको बताए ।
उनले भने ‘भाषा, संस्कृति, राजनीतिक अधिकारको लागि मिडियामा पहुँच बढाउन खुलेका पत्रकारिता, मिडियाजन्य जातीय सङ्घहरूले सञ्चार क्षेत्रको यो नयाँ चुनौतीप्रति सजग हुन जरुरी छ ।’ सामाजिक सञ्जालजन्य न्यु मिडियाको व्यक्तिवादी, अराजक कन्टेन्टले यथार्थलाई ओझेलमा पर्ने अल्गोरिदमबाट अनुदार तानाशाही सोच बढाउने खतरा बढेको उनको भनाई थियो ।
पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष कोशल चेम्जोङ, फोनिज प्रदेश १ अध्यक्ष विजयबोध लावती, पत्रकार महासङ्घ सुनसरीको अध्यक्ष सन्तोष काफ्ले, पूर्व प्रदेश प्रमुख प्राडा गोविन्द तुम्बाहाङ, चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा.योगेन्द्र पालुङवा सहितले लिम्बु पत्रकार सङ्घको भूमिकाको बारेमा चर्चा गरे ।
समारोहमा सङ्घका सल्लाहकार चुम्लुङ केन्द्रीय सदस्य मोहनकुमार हुक्पाचोङबाङलाई सम्मानित गरियो । सङ्घको संस्थागत विकासमा योगदान पुर्याएकोमा उनलाई दोसल्ला ओढाएर प्रमुख अतिथि मन्त्री लङवाले सम्मानपत्र सम्मानपत्र प्रदान गरिन् ।
केन्द्रीय अध्यक्ष सन्देश सुब्बा सेन्लपको सभापतित्वमा भएको स्थापना दिवस समारोहको समापन लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरको बारे लिम्बु पत्रकार सङ्घको धारणा ‘धरान घोषणापत्र’ जारी गरिएको छ ।








































































