धरान : लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिले धरानमा मनाएको २२ औँ स्थापना दिवसको समापनमा जारी गरेको ५ बुँदे ‘धरान घोषणापत्र’ मा धरानको विजयपुरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न स्थानीय एवं सङ्घीय सरकारले ऐतिहासिक एवं पुरातात्त्विक महत्वको स्थलको रूपमा अभिलेखीकरण तथा अध्ययन गर्ने कार्य यथाशीघ्र अघि बढाउन माग गरिएको छ ।
घोषणापत्रको चौथो बुँदामा भनिएको छ ‘ऐतिहासिक राजधानी विजयपुर दरबारको पुरातात्त्विक तथा सांस्कृतिक महत्वलाई अक्षुण्ण राख्दै भविष्यमा विश्व सम्पदा सूचीमा सूचिकृत गर्न दीर्घकालीन योजना सहित पुरातत्त्व विभागसँग समन्वय गरी उत्खनन,सीमाङ्कन,अभिलेखीकरण गर्न अध्ययनको प्रक्रिया यथाशीघ्र अघि बढाइयोस् ।’
लिम्बु पत्रकार सङ्घले भाषा आयोगले कोशी प्रदेशमा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजी भाषा लागु गर्न गरेको सिफारिस यथाशीघ्र कार्यान्वयन गर्न प्रदेश सरकारसँग माग गरेको छ । 
घोषणापत्रको तेस्रो बुँदामा भनिएको छ ‘भाषा आयोगले २०७८ मा सिफारिस गरेकोमा अहिले सम्म कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि नबढेकोमा प्रदेश सरकारसँग अविलम्ब कार्यान्वयन गर्न माग गर्दछौँ ।’
वर्तमान सरकारले निजी पत्रपत्रिकाहरूलाई राज्यले दिँदै आएको लोककल्याणकारी विज्ञापनमा रोक लगाएकोमा असन्तोष प्रकट गर्दै तिनै तहको सरकारबाट विज्ञापन र त्यसको भुक्तानी दिन माग गरेको छ । सरकारको विज्ञापन नाकाबन्दी गर्ने नीतिले विशेष गरी स्वरोजगार मूलक मिडिया हाउसहरू मारमा परेको घोषणापत्रमा उल्लेख छ ।
लिम्बु पत्रकार सङ्घले घोषणापत्रमा नेपालमा मातृभाषा पत्रकारितालाई प्रवर्द्धन गर्न ठोस नीति तथा कार्यक्रम निर्माण गरी लागु गर्न तिनै तहको सरकारसँग माग गरेको छ । 
सङ्घका केन्द्रीय अध्यक्ष सन्देश सुब्बाको हस्ताक्षरमा जारी घोषणापत्रमा भदौ १० गते भोटेकोसीको प्रलयकारी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै बेपत्ताहरूको खोजी उद्धारमा तदारुकता साथै राहत र पुनर्स्थापनामा तथारुखता अपनाउन सरकारसँग आग्रह गरेको छ ।
dharan--1