इटहरी : लकडाउनको समयमा अनलाइन कक्षा सञ्चालन गरिरहेका विद्यालयले शुल्क माग्न थालेको गुनासो बढेसँगै बेलबारी नगरपालिकाले कुनै पनि वैकल्पिक शिक्षाको नाममा पैसा लिन नपाउने निर्णय गरेको छ ।

गत जेठ ५ गते बसेको शिक्षा समितिको बैठकले कोभिड १९ को संक्रमणकालीन अवस्थामा विद्यार्थीलाई भर्चुअल (अनलाइन) कक्षा सञ्चालन गरेबापतको शुल्क लिन नपाउने निर्णय गरेको हो ।

लकडाउनको समयमा कक्षा अनलाइन कक्षा सञ्चालन गर्ने भन्दै विभिन्न विद्यालयहरूले अभिभावक तथा विद्यार्थीलाई अनावश्यक दवाब दिन थालेको गुनासो बढिरहेको छ । इन्टरनेटको पहुँच बाहिरका विद्यार्थीलाई समेत इन्टरनेट, ल्यापटप मोबाइल लगायत सामग्री व्यवस्थापन गर्न दबाब दिँदै आएका छन् ।

सोही विषयलाई मध्यनजर गर्दै बेलबारी नगरपालिकाले विद्यार्थीलाई अनावश्यक दाबाब दिएर ल्यापटप, मोबाइल व्यवस्थापन गर्न र अनलाइन कक्षा सञ्चालन गरेबापतको शुल्क लिने नपाइने गरी बिद्यालयहरुलाई परिपत्र गरेको हो । यस्तो महामारीको समयमा विद्यार्थीलाई कुनै न कुनै माध्यमबाट शिक्षा दिनु अपरिहार्य रहेको पत्रमा उल्लेख गरिएको छ ।Belbari-Education

उपमेयर तारा पराजुलीका अनुसार बेलबारी नगरपालिका भित्र अहिलेसम्म अभिभावकबाट शुल्क लिएको गुनासो नआएको र भोलीपनि त्यस्तो गुनासो नआओस् भन्नको लागि अगाडी नै निर्णय गरेको हो ।

गरिब र प्रविधिमा पहुँच नभएका अभिभावकलाई आफ्ना बालबच्चा कमजोर भए भन्ने अनुभूति नहोस् भन्नको लागी पनि नगरपालिका सचेत भएको उनको भनाई छ ।