धरान : धरानमा कोरोना सङ्क्रमित बोक्ने एम्बुलेन्स नहुदा धरान १३ की कोरोना सङ्क्रमितलाई अस्पताल पुर्‍याउन ढिलो भएको भन्दै धरान उपमहानगरमा एम्बुलेन्स चालकहरूसँग बसेको बैठकले धरानमा दुई वटा डेडिकेटेड एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

धरान उपमहानगरपालिकामा बिहीबार बसेको आकस्मिक बैठकले अव देखि धरानमा रहेका सबै एम्बुलेन्सले क्वारेनटाइन सम्म लान बिरामी बोक्नुपर्ने र नेपाल रेडक्रस सोसाइटिको एउटा एम्बुलेन्स र एम्बुलेन्स चालक समितिको एउटा एम्बुलेन्सले कोरोना सङ्क्रमित मात्रै बोक्न डेडिकेटेड एम्बुलेन्स २४ सै घण्टा तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाका अनुसार डेडिकेटेड एम्बुलेन्सका चालकले एक हप्ता कोरोना सङ्क्रमित बिरामी मात्रै बोक्नुपर्ने छ भने त्यस पछि अनिवार्य १४ दिन क्वारेनटाइनमा बस्नुपर्ने निर्णय गरिएको छ । नेपाल रेडक्रस सोसाइटीमा तीन जना एम्बुलेन्स चालक तयारी अवस्थामा राखिएको सभापति उमेश थापाले बताए ।

धरानमा कोरोना सङ्क्रमित बिरामीलाई एम्बुलेन्सले बोक्न नमानेकै कारण कोरोना पुष्टि भएको १८ घण्टा पछि मात्रै नेपाल रेडक्रस सोसाइटिको एम्बुलेन्सले आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । यत्ति लामो समय सम्म एम्बुलेन्स नपाइएकोमा सर्वसाधारणबाट एम्बुलेन्स सञ्चालक माथि चर्को आलोचना भएको थियो ।

डेडिकेटेड एम्बुलेन्स बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयारी अवस्थामा राखिने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताएका छन् ।

Nirnaya