धरान : धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारका लागि ल्याईने कोरोना संक्रमित विरामीका लागि प्रतिष्ठानको पुर्वी दक्षिणी गेट प्रयोग गर्ने सहमति भएको छ ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षामा धरान उपमहानगरपालिका र प्रतिष्ठानका पदाधिकारीविच भएको बैठकमा सो सहमति भएको हो । पुर्वी दक्षिणी गेट प्रयोग गर्दा विग्रिएको बाटो मर्मत सम्भार धरान उपमहानगरपालिकालाई जिम्मेवारी दिईएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिएका छन् ।

साविकको बाटो प्रयोग गरेर कोरोना संक्रमित विरामी प्रतिष्ठानको कोभिड १९ अस्पतालमा ल्याउदा कोरोनाको जोखिम हुने भन्दै धरान उपमहानगरपालिकाले प्रतिष्ठानलाई पुर्वी दक्षिणी गेट प्रयोग गर्न अनुरोध गरेको थियो । धरानबासीले पनि धरान बजारको विच बाटो बाट संक्रमित ल्याउदा समस्या हुने भन्दै आवाज उठाउदै आएका थिए । सोही अनुसार संक्रमित विरामीहरुलाई बैकल्पीक बाटो मार्फत अस्पताल प्रबेश गराउने सहमति भएको बताईएको छ । अब देखि कोरोना संक्रमित विरामीलाई तीनकुनेबाट हरीयाली हुदै प्रतिष्ठानको पुर्वी दक्षिणी गेट भएर अस्पताल ल्याईने छ । 

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना र्‍यापिड टिमको आकस्मिक बैठक भनिए पनि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त प्रवक्ता डा. निदेश सापकोटाले र्यापिट टिमको नियमित बैठक बसेको जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार आज देखि कोभिड १९ अस्पतालमा भर्ना भएका कोरोना संक्रमित विरामीहरुको चुस्त दुरुस्त व्यवस्थापन कसरी गर्ने भन्ने सवालमा छलफल भएको थियो ।