धरान : झापाको कचनकवल गाउँपालिकाका कोरोना सङ्क्रमित बिरामीलाई बिहीबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा ल्याई पुर्‍याएको छ ।

उनीहरूलाई प्रदेश सरकारले सञ्चालन गरेको विराटनगर स्थित कोभिड १९ अस्पतालमा बेड अभाव भएको कारण धरानमा तयारी गरिएको १ सय बेड क्षमताको कोभिड अस्पतालमा भर्नाका लागि पठाएको हो । तर उनीहरूलाई कोभिड १९ अस्पतालमा नराखी पेईङ वार्डमा तयार गरिएको आइसोलेसन वार्डमा राखिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

आइसोलेसनमा अहिले २४ जना कोरोना पुष्टि भईसकेका र अरू थप १२ जना गरी ३६ जना रहेको प्रवक्ता डा. सापकोटाले बताए । यसरी एउटै वडामा सङ्क्रमित र आशङ्का गरिएका बिरामी राख्नु जोखिम भएन र भन्ने प्रश्नमा उनले भने अहिले पेईङ वार्डको तलामाथि पनि आइसोलेसन बनाएकोले दुरी कायम गरिएको दाबी गरे ।

१ सय बेड क्षमताको अस्पतालमा किन बिरामी भर्ना गरिएन ?
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र रहेको कोभिड १९ अस्पतालमा बिरामी नराख्नुको कारण कुनै पनि तयारी नभएको बताइएको छ ।

Covid-19-hospital-DRN

नवनियुक्त उपकुलपतिले प्रदेश १ का मुख्यमन्त्री सेरधन राईलाई अहिले तयारी गरिएको कोभिड अस्पतालमा अरू थप गरी ५ सय बेड सम्मको अस्पताल सञ्चालन गर्न सकिने जानकारी दिएका थिए । तर औपचारिकरुपमा सञ्चालन सुरुवात भएको घोषणा भएको यत्तिका दिन सम्म एक जना बिरामी राख्ने सम्मको तयारी नगरिएको स्रोतले बताएको छ ।

अहिले सम्म सो १ सय बेडको अस्पतालमा नत बिरामीलाई राख्ने बेड तयारी भएको छ न बिरामीका लागि प्रयोग हुने भेन्टिलेटर नै जोडिएको छ । केही सामान जोडिएको भए पनि काम लाग्ने अवस्थाको नभएको बताइएको छ ।

यसरी १ सय जना बिरामीलाई भर्ना गरेर उपचार गर्न सक्ने क्षमताको अस्पताल तयारी भयो भनेर प्रतिष्ठान प्रशासनले कामै नगरेको बताइएको छ । कोरोना सङ्क्रमित दिनानुदिन बढी रहेको बेलामा यसबारेमा प्रदेश सरकारको ध्यान जान जरुरी रहेको स्वास्थ्य विज्ञहरूको भनाई छ ।