धरान : धरान १३ की कोरोना सङ्क्रमित महिलाको परिवार सहित १४ जनाको आज र्‍यापिड टेस्ट गरिएको छ ।

सबै जनाको रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् । सङ्क्रमित महिलासँग प्रत्यक्ष अप्रत्यक्ष सम्पर्कमा रहेका २६ जना मध्ये १४ जनाको आरडिटी र्‍यापिड टेस्ट गरिएको हो । अरू बाँकीको किट अभाव भएको कारण परीक्षण हुन नसकेको प्रमुख मेहेताले बताए ।

Dharan-13-2

यसै गरी सङ्क्रमित महिलाको घर वरिपरिका २३ जनाको ज्वरो पनि परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ र ज्वरो सामान्य रहेको बताइएको छ ।

कोरोना सङ्क्रमितको घर आसपासको क्षेत्र सिल गरिएको क्षेत्र भित्र शुक्रवार सेनिटाईज पनि गरिएको छ । जोखिम क्षेत्रमा सेनिटाईज गरिएको र त्यहाका बासिन्दाहरूको स्वास्थ्य पनि परीक्षण गरिएको र सबैको स्वास्थ्य अवस्था सामान्य भएकोले सिल गरिएको क्षेत्र शनिवार देखि खोल्ने कि भन्ने कुरा रहेको १३ नम्बर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिए ।

धरान १३ नम्बर वडाको सङ्क्रमणको जोखिम क्षेत्रहरूमा सेनिटाईज गर्ने तयारी भएको पनि धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् । जस अनुसार शनिवार धरान १३ को कृषि उपज बजार स्थलमा सेनिटाईज गरिने र अरू ठाउँहरूमा पनि सेनिटाईज गरिने तयारी भइरहेको बताइएको छ ।