झापा : झापाको कचनकवल गाउँपालिकामा ३३ जना कोरोना सङ्क्रमित भेटिएपछि पुरै गाउँपालिका सिल गरिएको छ ।

एकातिर कोरोनाको त्रास यथावत् छ भने अर्कोतिर चोरीका घटना बढ्न थालेपछि स्थानीयमा थप त्रास फैलिएको छ । कचनकवल गाउँपालिका २ पथरियामा रहेको पुरानो बजार क्षेत्रमा स्थानीय राजन यादवले सञ्चालन गरेको विद्युतीय उपकरण खरिद बिक्री पसलमा चोरी भएको छ ।

सो पसलमा करिब ३ लाख नेपाली रुपैयाँ बराबरको माल सामान चोरी भएको पाइएको छ । पसलमा रहेको सटरको चाबी फुटाइ दुई थान ल्यापटप, करिब २२ थान मोबाइल, करिब ६० हजार बराबरको घडी, २० हजार बराबरको मोबाइल ब्याट्री ,चार्जर, अन्य टर्च लगायतका विद्युतीय उपकरण साथै नगद १६ हजार चोरी भएको पीडित यादवले बताएका छन् ।

यो घटना कचनकवलमा पहिलो भने होइन । केही हप्ता अघि लक डाउनकै समयमा सोही गाउँपालिकाको घेराबारीमा पनि राँगा सहित भौसी चोरी भएको थियो । यस्तै सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित डुबडुबी भन्ने स्थानमा पनि चोरी भएको थियो । गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले अहिले सिङ्गो गाउँपालिका मात्र नभएर सुरक्षाकर्मी पनि सीमा केन्द्रित भएका बेला दुले चोरले हैरान बनाएको बताउँछन् ।
आगामी दिनमा बजार तथा आसपासका क्षेत्रमा सुरक्षा गस्ती बढाइने जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले बताए । कोरोनाको त्राससँगै चोरीका घटना बढ्दै जाँदा गाउँपालिकावासी दोहोरो त्रासमा बस्न बाध्य भएका छन् ।

राज्यमन्त्री गजमेर क्वारेन्टाईनमा
झापा प्रदेश नंं १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले झापा जिल्लाको सङ्क्रमित क्षेत्र कचनकबलको क्वारेन्टाइन निरीक्षण गरेकी छन् । 

Kachanakabal-Jhapa-Rajyaman

उनले विभिन्न प्रकारका स्वास्थ्य सुरक्षाका सामग्री पनि प्रदान गरेकी छन् ।
प्रदेश १ को राजधानी विराटनगरबाट आज बिहानै झापा आईपुगेकी राज्यमन्त्री गजमेरले सीमाबाट भित्रिने नेपालीहरूलाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राख्ने, उनीहरूलाई उचित खाने बस्ने सुविधा दिने र कोरोना परीक्षण गर्ने जिम्मेवारी सरकारले पूरा गर्ने प्रतिबद्धता समेत जनाएकी छन् ।

कचनकवल स्थित लक्ष्मी प्रसाद देवकोटा मावि क्वारेनटाइनमा शनिवार बिहान ७ बजे पुगेकी मन्त्री गजमेरले क्वारेनटाइनमा बस्नेका लागि १०० थान स्यानिटाइजर र ५०० थान मास्क दिएकी छन् भने स्वास्थ्यकर्मीका लागि २० सेट पीपीई र ३ थान थर्मल गन प्रदान गरेकी छन् । यस्तै राज्य मन्त्री गजमेरले नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटालाई भेटेर १०० थान एन ९५ मास्क झापाका पत्रकारहरूका लागि उपलब्ध गराएकी छन् ।