धरान : धरान १४ विजयपुरमा चौकको नाममा विवादको क्रममा दुई समूह बिच झडप हुँदा १४ नम्बर वडाका दलित महिला सदस्य सहित ३ जना घाइते भएका छन् ।

धरान १४ को बमधारा मार्गमा भर्खरै नामकरण गरिएको शिवजी चौकको विषयमा विवाद भएको थियो । शिवजी चौक भन्दा युवाहरूलाई लक्षित गरेर गजाडी भन्न खोजेको आरोप लगाउँदै केही युवाहरूले विरोध गर्दै आएका थिए ।

हिजो स्थानीय केही युवाहरूले शिवजी चौक लेखिएको बोर्ड फुटाई दिएकोमा स्थानीयवासी र स्थानीय युवाहरूबिचमा विवाद हुँदा आज बिहान झडप भएको प्रहरीले जनाएको छ ।

झडपको क्रममा धरान १४ का दलित महिला सदस्य मनीषा विक, पूर्व प्रहरी हवलदार झलक तामाङ, सुरज विक घाइते भएका छन् । उनीहरूलाई बियर को बोटल र चिर्पटले प्रहार गरिएको बताइएको छ । घाइतेहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ ।

झडपमा चिर्पट र बोतल प्रहार गर्ने ५ जनालाई भने प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार बाबुराम अधिकारी, अर्जुन तामाङ, पदम तामाङ, गणेश कार्की र मनोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

घाइते मध्ये दलित महिला सदस्य मनीषा विकको नाकबाट अहिले सम्म रगत नरोकिएको बताइएको छ । पक्राउ परेकालाई थप अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ ।