धनकुटा : नेपाल नेत्रज्योति सङ्घ धनकुटा, डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाले धनकुटाको मुलघाटमा रहेको विश्रान्ति वृद्धाश्रमका ज्येष्ठ नागरिकहरूको आँखा जाँच गरेको छ ।

वृद्धवृद्धाको आँखा सम्बन्धी उपचारका लागि निःशुल्क उपचार शिविर सञ्चालनमा ल्याइएको हो । शिविरमा वृद्धाश्रमका ४६ जना वृद्धवृद्धाको आँखा जाँच गरिएको हो । शिविरमा निःशुल्क औषधि वितरण गरिएको र आँखा कमजोर भएका वृद्धवृद्धालाई निःशुल्क चस्मा वितरण गरिने नेत्रज्योति सङ्घ धनकुटाका अध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिए ।

उक्त निःशुल्क आँखा शिविरबाट ६५–९९ वर्ष सम्मका ज्येष्ठ नागरिक हरुले सेवा लिएका थिए । उक्त शिविरमा डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पतालका चिकित्सकले सेवा दिएको नेत्रज्योति सङ्घ धनकुटाका सचिव देवबहादुर खड्काले जानकारी दिए । विश्रान्ति वृद्धाश्रममा ६५ वर्षदेखि १ सय ६ वर्षसम्मका वृद्धवृद्धा बस्दै आएका छन्।