धरान : सप्तरी जिल्लामा शाही कृष्ण प्रस्तावित मेडिकलमा कोरोना सङ्क्रमितहरुहरको उपचारका लागि आइसोलेसन कक्ष सञ्चालनमा आएको छ ।

सप्तरी जिल्लामा पछिल्लो समय अत्याधिकरुपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा सङ्क्रमितलाई राख्ने अस्पतालमा बेड अभाव भएको कारण उनीहरूलाई क्वारेनटाइनमा नै राखिँदै आएको थियो । तर आइतबार साँझ देखि भने राजविराजको शाही कृष्ण प्रस्तावित मेडिकल कलेजको भवनमा आइतबार थपिएका १२ जना र क्वारेनटाइनमा बसिरहेका १८ जना गरी ३० जनालाई भर्ना गरिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादबले जानकारी दिएका छन् ।

उनका अनुसार पहिलो चरणमा १ सय बेडको आइसोलेसन कक्ष तयारी भएको र बाँकी थप ५ सय बेड सम्मको आइसोलेसन त्यही बनाउन सकिने अवस्था छ ।

पिसिआर परीक्षण राजविराजमै हुने
सप्तरीको राजविराजमा कोरोना सङ्क्रमण सम्बन्धी थ्रोट स्वाबको नमुनाबाट गरिने पिसिआर परीक्षण पनि सप्तरीमै हुने भएको छ ।

स्वास्थ्य प्रमुख यादवका अनुसार आइतबार गरिएको डेमो परीक्षण सफल भएकोले अव थप व्यवस्थापनका पाटोहरू मिलाउँदै पिसिआरको परीक्षण सप्तरीको राजविराजबाटै हुने तयारी भइरहेको छ । ल्याब पुर्णरुपमा तयारी भइसकेको र केही कुराको व्यवस्थापन गर्न बाँकी रहेकोले आज या भोलि देखि पिसिआर परीक्षण सप्तरीको राजविराजबाटै सुरु हुने बताइएको छ ।

यसै गरी सप्तरी जिल्लामा केही दिन अघि लिइएको २२६ वटा स्वाबको नमुना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षणको लागि पठाइएको छ । अव सप्तरीमा ४ सय ३० जनाको रिपोर्ट आउन बाँकी रहेको पनि प्रमुख यादवले बताए ।

सप्तरीमा पछिल्लो समय आइसोलेसन तयारी हुनु र पिसिआर परीक्षण गर्ने ल्याब पनि तयारी हुनुले केही राहत महसुस भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए ।