धरान : धरान उपमहानगरपालिकाले गएको जेठ १४ गते देखि धरान १७ स्थित एन्फा एकेडेमीमा सञ्चालनमा ल्याएको क्वारेनटाइनमा भारतबाट आएका ३७ जनालाई राखिएको छ ।

एन्फा एकेडेमीमा ६१ बेडको क्वारेनटाइन तयारी भएपछि क्वारेनटाइन सञ्चालनको पहिलो दिन जेठ १४ गते राति भारतको पानीघट्टा निरपानीबाट काँकडभिट्टा नाका हुँदै आएका ७ जनालाई राखिएको छ भने जेठ १५ गते भारतको सिलगढीबाट २ जना, खरसाङबाट १ जना गरी ३ जना, जेठ १६ गते ८ जना आएका छन् । जस मध्ये जोगवनी नाका हुँदै ७ जना र १ जना काँकडभिट्टा नाका हुँदै आएका हुन् । उनीहरूमध्ये ३ जना जयपुर भारत, गुडगाउबाट १ जना, दिल्लीबाट २ जना, युपीबाट १ जना र पानीटंकीबाट १ जना गरी जम्मा ८ जना रहेका छन् ।

यसै गरी जेठ १७ गते भारतको नागाल्यण्डबाट काँकडभिट्टा हुँदै आएका १ जनालाई पनि क्वारेनटाइनमा राखिएको छ । यस्तै जेठ १८ गते सुनसरीको भाण्टाबारी नाका हुँदै ८ जना र जनकपुर नाका हुँदै ३ जना भारतको दिल्लीबाट आएका ११ जनालाई पनि क्वारेनटाइनमा राखिएको छ ।

यस्तै गए राति २ जना महिला भारतको दार्जिलिङबाट आएकालाई पनि क्वारेनटाइनमा राखिएको छ भने सोमबार बिहान भारतको वृन्दावनबाट आएका ५ जनालाई पनि क्वारेनटाइनमा भर्ना गरिएको छ ।
क्वारेनटाइन सञ्चालनमा आएको पाँच दिनमै ६१ बेड क्षमताको क्वारेनटाइनमा भारतबाट मात्रै आएका ३७ जनालाई राखिएको एन्फा एकेडेमी क्वारेनटाइन व्यवस्थापन समितिका सदस्य सचिव तथा १७ नम्बर वडा सचिव शिशिर श्रेष्ठले जानकारी दिएका छन् ।

क्वारेनटाइनको सुरक्षा नेपाली सेनाले गरिरहेको छ भने २४ सै घण्टा स्वास्थ्यकर्मी पनि खटाइएको छ ।