बिर्तामोड :  नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका ८० जना सदस्य पत्रकारको कोरोना उपचार बीमा गरिएको छ ।

महासंघले पहिलो चरणमा उपचार कोषमा आवद्ध भएका ८० जना पत्रकारको बीमा गरेको अध्यक्ष तारामणि सापकोटाले बताए । पेशागत बीमा संघ बिर्तामोड (इन्स्युरेन्स प्रोफेसन सोसाइटी )को सहकार्यमा महासंघले पत्रकारको बीमा गरेको हो ।

आइतबार पत्रकारको बीमाका लागि पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटा र उपाध्यक्ष एकराज गिरीले पेशागत बिमा संघ बिर्तामोडका अध्यक्ष सन्तोष उप्रेतीलाई ८० पत्रकारको विवरणसहित रकम प्रदान गरेका थिए ।

बीमा गरिएका पत्रकारमा कोरोना संक्रमण देखिएमा एक लाख रुपैयाँ बीमा कम्पनीले उपलब्ध गराउने छ ।
दोस्रो चरणमा पत्रकार महासंघका सदस्य र जिल्लामा क्रियाशील पत्रकारको समेत बीमा गरिने बताइएको छ ।
पत्रकार सहारा उपचार कोषमा हालसम्म १०१ जना सदस्य छन् भने एक जनाको मृत्यु भएको छ । केही सदस्यको स्थानीय सरकार, सञ्चार गृह र संस्थाले बीमा गराएका छन् ।

जनही ३००० शुल्क बुझाएपछि पत्रकार महासंघ झापाका सदस्यले पत्रकार सहारा उपचार कोषको सदस्य बन्ने प्रावधान छ । एक करोड रुपैयाको कोष बनाउने लक्ष्यका साथ स्थापना गरिएको पत्रकार सहारा उपचार कोषमा हाल ४५ लाख रुपैया जम्मा भएको कोषका संयोजक तथा महासंघका उपाध्यक्ष गिरीले बताए ।