धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना कोरोना संक्रमित निको भएर गएराति घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई वीपी प्रतिष्ठानबाट गएराति डिस्चार्ज गरेर घर पठाइएको प्रतिष्ठानले जनाएको छ । निको भएर घर फर्किएकाहरुमा १ जना धरान १३ की महिला रहेकी छिन् भने अन्य सबै झापा जिल्लाका हुन् ।

उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साह, सहायक निर्देशक डा.विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा.इन्द्र लिम्बुलगायतले विदाई गरेका थिए ।

धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका नागरिकहरुलाई बसमा पठाइएको थियो । प्रतिष्ठानको आइसोलेसनमा अब ८० जना संक्रमित व्यक्तिहरु रहेका छन् । ती सबै झापाका हुन् ।