धरान : किराँत राई यायोक्खा साउदी अरब जेद्दा शाखाद्वारा रुखबाट लडी थलिएका गणेशकुमार राईलाई १ लाख ४६ हजार सहयोग गरिएको छ ।

धनकुटा जिल्ला पाख्रिवास नगरपालिका निवासी गणेश कुमार राईको उपचार सहयोगार्थ सङ्कलित रकम एक कार्यक्रमका बिच हस्तान्तरण भएको छ ।  किराया जेद्दा क्षेत्रीय कार्यसमितिका सल्लाहकार प्रेम राई र बाल कुमार राईको अगुवाइमा गरिएको उक्त अभियान मार्फत १ लाख ४६ हजार ४२ रुपैयाँ सङ्कलन भएको थियो ।

पीडित गणेश कुमार राई गत ३ महिना पहिले रुखबाट लडी थलिएका थिए । उपचारको क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८० दिन आइसियुमा रहेका थिए । लामो समय आइसियुमा बस्नु पर्ने भएपछि आर्थिक अवस्था कमजोर हुँदै गएपछि किराया साउदी जेद्दा क्षेत्रीय कार्यसमितिले उक्त अभियान सुरु गरेको हो । नोभेल कोरोना भाइरस सङ्क्रमणकालीन अवस्थामा किराया जेद्दा क्षेत्रीय कार्यसितले रकम सङ्कलन व्यक्तिगत रूपमा गरेको हो ।

किराँत राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिले धरानमा एक कार्यक्रम गरी सो रकम हस्तान्तरण गरेको छ । किराँत राई यायोक्खा केन्द्रीय सचिव दोर्पध्वज राईको उपस्थिति र किराया सुनसरी जिल्ला कार्यसमितिको मातहतमा सो सङ्कलित रकम हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा किराया सुनसरी जिल्ला कार्यसमिति अध्यक्ष बलराम राई, जिल्ला सचिव राजेन्द्र राई, पत्रकार उपेन्द्र चाम्लिङ को उपस्थिति रहेको थियो ।