धरान : झापाका क्वारेनटाइनमा बसेका थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

झापा जिल्लाको बुद्धशान्ति गाउँपालिकाको बुद्ध आदर्श माविको क्वारेनटाइनमा बसेका मध्ये बुद्धाशान्तिका एक जना, तीन जना ताप्लेजुङ र एक जना पाँचथरको रहेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । कोरोना पोजेटिभ हुनेहरूमा ताप्लेजुङका ४०, १८, १८ वर्षका तीन पुरुष, पाँचथरका २० वर्षीय पुरुष र बुद्धशान्ति वडा नम्बर ४ का ३० वर्षीय पुरुष रहेका छन् ।

उनीहरू भारतको उत्तर प्रदेश राज्यको लखनउबाट नेपाल फर्किएका थिए । उनीहरूलाई बुद्ध आदर्शको क्वारेनटाइनमा राखिएको र त्यहीबाट स्वाब सङ्कलन गरी पिसीआरका लागि धरान पठाइएको थियो । परीक्षण रिपोर्टमा पाँच जनाको रिपोर्ट पोजेटिभ आएको हो, भने ७९ जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

बुद्धशान्तिमा भारतबाट आएका सोही गाउँपालिका सहित इलाम, पाँचथर र ताप्लेजुङका स्थानीयलाई पनि त्यहीकै क्वारेनटाइनमा राखिएको छ । झापा जिल्लामा मङ्गलवार २ सय ३७ जनाको रिपोर्ट आएको हो । मेची बहूमुखी क्याम्पसको क्वारेनटाइनमा बसेका विभिन्न जिल्लाका १ सय १७ जना र कनकाई नगरपालिका क्वारेनटाइनमा बसेका ३६ जनाको रिपोर्ट नेगेटिभ आएको एसपी कोइरालाले बताए ।

झापाको कचनकवलका सय जना सङ्क्रमितमध्ये १७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जिल्लाको यसअघि कचनकवलमा एक सय जना, बाह्रदशी र गौरीगञ्जमा चार चार जना, गौरदाहमा दुई जना, दमक नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकामा एक एक जना सङ्क्रमित भेटिएका थिए ।