धरान : गत जेठ १० गते रुकुमको चौरजहारिमा प्रेम विवाहमा विवाद हुँदा भएको छ जनाको ज्यान जाने घटनाको धरानमा विरोध प्रदर्शन गरिएको छ ।

जनता समाजवादी पार्टी शिल्पी विशेष प्रदेश १ को अगुवाइमा धरानको भानु चोकमा घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरिएको छ । जनता समाजवादी पार्टी कार्यालयबाट नारा जुलुस सहित निस्किएको जुलुस भानु चौकमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई जनता समाजवादी केन्द्रीय सदस्य जेन्टल लावती, दलित अधिकारकर्मी रमेश गजमेर, परियार सेवा समाजका सुनसरी अध्यक्ष खगेन्द्र परियार,मिजार सेवा समाजका शरण मग्राति, नेपाल दलित मुक्तिका सुमन गहतराजले चौरजहारी घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए ।
विरोध कार्यक्रम जनता समाजवादी पार्टी शिल्पी विशेष प्रदेश १ अध्यक्ष नरेश बिकको अगुवाइमा भएको हो ।