इटहरी : उदयपुरको बेलका नगरपालिका स्थित मदन भण्डारी राजमार्गको छेवैमा दुई वटा छाप्रो छन् ।

छाप्रो भित्रको दृश्य राजमार्गबाटै प्रस्ट देखिन्छ । यसो हेर्दा गाई गोठ वा बाख्रोका खोर जस्तो देखिने छाप्रो मरिक परिवारको घर हो ।

छाप्राको नजिकै दुइजना युवा सुँगुरको खोर बनाइरहेका छन् । त्यसको छेवैमा एक अधवैसे युवा उभीरहेकाछन् । नयाँ मान्छे देख्ने बित्तिकै ‘मालिक ! के गर्नुपर्‍यो मालिक !’ भन्छन् । हात जोडेरै ‘केही कामको लागी बोलाउन आउनु भएको हो ?’ भन्दै सोध्छन् ।

तिनै छाप्राको बारेमा बुझ्न खोज्दा अगाडी सरेर आफ्नो र दाइको घर भएको उनी बताउँछन् । बरु एक पटक छाप्रो नजिकै गएर हेर्न आग्रह गर्छन् । अगेनामा पुरानो कालो कराई, छरपस्ट लत्ताकपडा, एक पोका तेल, एक डल्लो प्याज भुईँमा छरिएका छन् । धुलो मैलो भुँइ सफा नगरेको लामो समय बितेको जस्तो देखिन्छ । बाल्टीको बिर्कोमा केही खुर्सानी छन् सँगै पहेँलो चामलको पोको पनि छ ।

बेलका नगरपालिकामा ट्वाइलेट सफा गर्ने गरेका उनीहरू पछिल्लो समय बेरोजगार छन् । लखन मरीक र उनकी श्रीमती रेणुका मरीकको रोजगारी छुटेको २ महिना पुरा भयो । नगरपालिकाले दिएको राहत सकिए पछि अहिले मागेरै जीविका चलाउनु परेको उनीहरू सुनाउँछन् ।

भुईँमा राखिएको चामलको पोको देखाउँदै उनले भने, ‘मालिक यो भर्खरै मागेर ल्याएको चामल हो । यसरी नै मागेर कथिँदिन चल्छ मालिक ? ट्वाइलेट सफा गर्न नपाएर भोकै बस्नुपरेको छ मालिक !’

‘४ जना छोराछोरी छन् । छोराछोरी पाल्नै समस्या परी सको ।,’ लखन सँगै रहेकी रेणुकाले भनिन् ।
भद्रगोल छाप्राको छेवैमा अर्को नयाँ छाप्रो पनि निर्माणाधीन अवस्थामा छ । त्यो लखनको नयाँ छाप्रो हो । ५ सय रुपैयाँको बाँस खरिद गरेर ल्याएर नयाँ छाप्रो बनाउन लागेको उनले सुनाए । त्यसमध्ये २ सय रुपैयामात्र पैसा तिरेको र बाँकी तिर्न बाकी रहेको उनीहरू बताउँछन् ।

सप्तरीको माहुली पुर्खौली घर भएका उनी बेलकाको सुकुम्वासी बस्तीमा बस्ने गरेका थिए । सानैमा बाबुको मृत्यु भएपछि आमाले दोस्रो विवाह गरिन् । त्यसपछि बेवारिसे अवस्थामै हुर्किएका उनी हाल बेलकामा नगरपालिकाको शौचालय सफा गर्ने काम गर्छन् । दैनिक ज्यालादारी काम गर्ने भएकोले अहिले आर्थिक उपार्जनका सबै बाटो बन्द भएको उनी बताउँछन् ।