धरान : '२० दिन अघि अजि र निनिलाई भेटेको थिए, तर आज उहाहरु दुबै जना हामी माझ हुनुहुन्न ।'

'चैत-वैशाख जस्तै जेठमा भएको आगलागीले धरानमा बिहीबार बिहान अकल्पनीय घटनाले हामीबाट दुवैलाई टाढा लगिदियो' नाति राजन श्रेष्ठले भने। राजन श्रेष्ठ पेसाले ट्राफिक प्रहरी हुन् । उनी धरानमै कार्यरत थिए पहिले अहिले सिराहा हुँदै धनकुटा पुगेका उनले एका बिहानै नराम्रो खबर सुन्न पर्‍यो ।

खबर सुन्ने बित्तिकै धनकुटाबाट मोटरसाइकलमा धरान १५ मा रहेको घर आईपुग्दा घरमा लागेको आगो निभाई सकिएको थियो । घर मात्रै जलेन अजी र नीनीलाई पनि आगोले खाएको थाहा पाउँदा उनी झन् आहत बने ।

धरान-१५ साम्पाङ्ग चौकमा रहेको श्रेष्ठको दुई तले काठको घरमा आगलागी हुँदा दु:खद घटना भएको हो ।
आमा छोरी घरको माथिल्लो तलामा बस्ने गरेका थिए भने एउटा कोठा विद्यार्थीलाई भाडामा दिएका थिए । आगलागीको समयमा अजी,आमा, नीनी र छोरी मात्र घरमा रहेका थिए । राजनका बुबा नरबहादुर श्रेष्ठ समेत घरमा थिएनन् ।

छरछिमेकले घरमा आगो लागेको देखेपछि दमकल र प्रहरीलाई खबर गरेका थिए । तर दमकल ढिलो आएको कारण यस्तो मानवीय क्षति भएको स्थानियबासीहरुले बताएका छन् । दमकललाई खबर गरेको १ घण्टापछि मात्रै घटना स्थलमा आईपुगेको स्थानीय तारा शाक्यले बताइन् ।

आगलागी भएको देख्नेवित्तिकै सबैतिर खबर गर्दा पनि समयमा दमकल नआएका कारण मानवीय क्षति भएको आफन्त राजकुमार श्रेष्ठले बताए । आमाले छोरीलाई बचाउने क्रममा दुई जनाको ज्यान गएको उनले भने ।
प्रहरी भने समयमै पुगे पनि क्षति हुनबाट बचाउन सकेन ।

धरान उपमहानगरपालिकाले विपत्तका समयमा तयारी नगरेकै कारण यस्तो घटना घट्ने गरेका छन् । केही समय अगाडि धरान ८ को एक सुकुम्वासी टोलमा आगलागी हुँदा समयमै दमकल नपुग्दा ठुलो क्षति हुन पुगेको थियो ।

समय समयमा दमकल बिग्रिरहनु पनि धरानमा आगलागीका घटना समयमै नियन्त्रण हुन नसकेका धेरै उदाहरण हुन् । विपत् जोखिमका समयमा सम्पूर्ण संयन्त्र कोरोना भाइरस नियन्त्रणमा लागेका कारण पनि समयमै आगलागी नियन्त्रण हुन नसक्दा ठुलो क्षति भएको स्थानीयहरूको आरोप छ ।

आगलागीबाट ज्यान गुमाएका ८७ वर्षीय धनकुमारी श्रेष्ठ र ५८ वर्षीय सीता श्रेष्ठको बिहिबारनै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरी खत्री धारामा दाहसंस्कार भएको बताइएको छ ।