धरान : धरान रंगकर्मको उर्वर भूमि मानिन्छ । तर यही ठाउँमा अहिले सम्म एउटा पनि नाटक मञ्चन गर्ने थलो बन्न सकेको थिएन ।

यदि नाटक मञ्चन गर्नुपर्ने अवस्था आए धरानका विभिन्न ठाउँका सभाहलहरू खोज्दै हिँड्नुपर्ने धरानका रङ्गकर्मीहरूको बाध्यता थियो । तर बिहीबार धरानमा नाटक घर कार्यको शुभारम्भ भएपछि धरानका रङ्गकर्मीहरू खुसी भएका छन् ।

धरान यस्तो सहर हो जहा देशका प्रख्यात रङ्गकर्मीहरूले यहीबाट रंगकर्म सुरु गरेर राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल भएका थुप्रै कलाकारहरू धरानका छन् । त्यसैले धरानलाई कला, साहित्य र रंगकर्मको उर्वर भुमिकोरुपमा मान्ने गरिन्छ । वि.सं. १९९७ साल ताका धरानमा नाटक मञ्चन भएको रंगमन्चिय इतिहास रहेको पाइन्छ । ८० वर्ष अघि धरानमा नाटक मञ्चन भएको एउटा रङ्गमञ्चको इतिहास बोकेको सहरमा अहिले सम्म नाटक मञ्चन हुने निश्चित ठाउँ नहुँदा धरानका रङ्गकर्मीहरूले धेरै नै दुःख झेल्नुपर्ने बाध्यता थियो ।

बिहीबार धरान उपमहानगरपालिकाको वडा नं. ८ मा रहेको धरान सभागृह हाता भित्र धरान नाटक घरको शिलान्यास हुनुले धरानका रङ्गकर्मीमा उत्साह छाएको छ । नाटकको क्षेत्रमा धरानले एउटा ऐतिहासिक उपलब्धि हासिल गरेको रंगभुमि एकेडेमीका विष्णु मोक्तानले बताए ।

धरानमा धेरै सङ्घर्ष पछि धरान नाटक घरको शिलान्यास भएकोमा आफूलाई अत्यन्तै खुसी लागेको बताउँदै उनले भने “अग्रज रङ्गकर्मीहरूको मेहेनेतको प्रतिफल हो यो ।” करिब ४० लाखको सांसद विकास कोषको रकमबाट सो नाटक घरको निर्माण थलानी हुने भन्दै बिहीबार शिलान्यास भएको हो । शिलान्यास सुनसरी क्षेत्र नं एकका सङ्घीय सांसद जय कुमार राईले एक कार्यक्रमका बिच गरे ।

सङ्घीय सांसद जय कुमार राईले नाटक घर बन्नु धरानको लागि निकै खुसीको कुरा भएको बताए । यो नाटक घर बन्नेमा आफूलाई पनि निकै गौरव महसुस गरेको बताउँदै सांसद राईले यो अभियानलाई लिएर म पनि अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

धरानमा नाटक घर शिलान्यास कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुवेदी, धरानका विभिन्न क्षेत्रका प्रतिनिधि, रङ्गकर्मी र संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । करिब ५ करोड रुपैयाँ निर्माण लागत अनुमान गरेको धरान उपमहानगरपालिकाले विभिन्न सरकारी निकाय, सांसद विकास कोष, स्थानीय दाताहरूबाटै सहयोग उठाएर नाटक घर निर्माण सम्पन्न हुने जनाएको छ ।

सुविधा सम्पन्न नाटक घर निर्माणको डिपिआर तयारी भइरहेको छ । यो करिब ५ करोड लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ । यो आर्थिक वर्षमा सांसद राईले ४० लाख बजेट नाटक घरकोलागि विनियोजन गरिदिएका थिए । नाटक मञ्चनसँगै कविता वाचन, चित्रकला प्रदर्शनीलगायत कार्यक्रमहरू पनि आयोजना गर्न सकिने गरी नाटक घर निर्माण हुने बताइएको छ ।

103527691_550928208883144_8230731024392157253_n