इटहरी : प्रदेश एकको सरकारले सांसदहरुले उठाएको समस्यामा ध्यान नदिएको भन्दै सरकारको विरोध भएको छ । प्रदेश सरकारले सांसदहरूले उठाएको गुनासो सम्बोधन नगरेको भन्दै नेकपाकी सांसद कला घलेले कान थुनेर प्रदेश सभामा बोलेकी हुन् ।

उदयपुरकी सांसद घलेले बिहीबारको संसदको शून्य समयमा सरकार कामकाजी भन्दा पनि नामकाजी भएको गुनासो व्यक्त गरिन । ‘कामकाजी हौँ कि नामकाजी हौँ’ प्रस्ट हुनुपर्छ भन्दै उनले सरकारद्वारा सांसदले उठाएको सवाल नसुन्ने गरिएको र आफूले कान थुनेर समस्या राखेको स्पष्ट गरिन् ।

पर्यटन मन्त्रालयमा उदयपुरको महाभारत एकीकृत पर्यटन पार्कको फायल मन्त्रालयमा पेस भएको महिना दिन बितिसक्दा समेत सम्बन्धित मन्त्रालयले ध्यान नदिएको गुनासो बताइन । 'पेस्की रकम पनि गएको छैन घलेले भनिन् 'मन्त्रीका स्वकीय सचिवलाई बारम्बार लेखाएको तर कुरा सुनुवाइ भएन'।

उनले प्रदेश सरकारको बजेट मन्त्रीको निर्वाचन क्षेत्रमा मात्र धेरै लगाएकोमा समेत विरोध जनाएकी थिइन् । 'मन्त्रीकै निर्वाचन क्षेत्रमा योजना हुलका हुल छन्,यो तरिकाले सुनुवाइ नभएकाले कान थुनेर शून्य समयमा बोलेको हुँ ।'

घलेले मात्र हैन मन्त्रीको क्षेत्रमा मात्र धेरै बजेटको परेको विषयमा काँग्रेसबाट निर्वाचित सांसद लोकप्रसाद संग्रौलालाले समेत विरोध गरेका थिए । मन्त्री बाहेक अन्य क्षेत्रको कार्यक्रम परेको भएपनि कटौती गरिदिने प्रवृत्ति देखिएको उनले सरकार माथि आरोप लगाएका थिए ।