पथरी : बेलबारी नगरपालिकाले आउँदो आर्थिक वर्ष २०७७/०७८ १ अर्व १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैयाँ बजेट सार्वजनिक गरेको छ । छैटौँ नगरसभा बाट चालु कार्यक्रम र प्रशासनिक खर्चका लागि ७३ करोड ५१ लाख ९३ हजार १ सय ६० रुपैयाँ र पुजिगत तर्फ ४० करोड ४ लाख १६ हजार ८ सय ५ रुपैयाँ विनियोजन गरेको हो ।

नगरसभाले नगरका गौरवका केही आयोजनाहरूलाई निरन्तरता दिएको छ, भने केही नयाँ कार्यक्रममा थप गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । नगरपालिकाले गरिबसँग नगरपालिका कार्यक्रमलाई निरन्तरता दिँदै विपन्न परिवारलाई वस्तुगत राहत सहयोग तथा सिप क्षमता र सामान्य पुजिको अभावमा जीविकोपार्जन गर्न कठिन भएका व्यक्ति तथा समुहरुलाई उद्यमशीलतामा अग्रसर गराउनका लागि १ करोड ९६ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको हो ।

कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्केका स्थानीय युवाहरूलाई आफ्नै भूमिमा परिश्रम र सहकार्य गराउँदै युवाहरूलाई स्वरोजगार बनाउनका लागि १ करोड रकम विनियोजन गरेको ढकालले बताए ।

बोयर बोकाको स्रोत केन्द्र बिस्तार गर्नका लागि १ करोड २५ लाख विनियोजन गरेको छ भने नगरपालिकाले ३ महिना भन्दा बढी समय खान नपुग्ने अति विपन्न परिवारका लागि खाद्य सुरक्षा विपत सहजताका लागि १ करोडको छुट्टै व्यवस्था बजेटमा गरेको छ ।

कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न प्रोत्साहन गर्दै नमुना कृषि फर्म सञ्चालन गर्ने,चाक्लाबन्दि खेतिगर्ने, बाझो जग्गा राख्न नपाइने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पशु स्वास्थ्य लाई प्रभावकारी बनाउनका लागि २२ जनालाई पशु प्राविधिक बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो ।

नगरपालिकाले आफ्नो गौरवकै आयोजनाका रूपमा लिभ्रा कम्पनीसँगको सहकार्यमा फोहोर मैला व्यवस्थापन, २४ करोडको लागतमा बेलबारी कम्प्लेक्स, रैझार पुल ,अमना सिसौलि परियोजना, बेलबारी बहुमुखि क्याम्पस, रमिते पर्यटकीय क्षेत्र,उज्यालो बेलबारी कार्यक्रम, धनपालगढि, नगरपालिकाको भवन, सौर्य ऊर्जा कार्यक्रमलाई लिएको छ ।

समूह तथा सहकारी सँगको सहकार्यमा फलफूलका बिरुवा उत्पादन गर्न नर्सरी स्थापना गर्ने नगर सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा टिस्युकल्चर ल्याबको स्थापना गरी स्वस्थ बिरुवा उत्पादन गर्ने समेत उल्लेख गरिएको छ ।

स्थानीय मौलिक खानाका प्रजातिहरूलाई उत्पादन प्रवर्धन तथा बजारीकरण र ब्रान्डिङ गर्न पहल गर्ने उल्लेख गरिएको छ । फूल खेतीलाई समेत प्राथमिकता दिइएको छ । औपचारिक तथा अनौपचारिक कार्यक्रममा फूलको प्रयोग गर्दै आयातित खदा तथा मालालाई विस्थापित गर्ने जनाइएको छ ।

धनपालगढि, रमिते, अमना शिशौलि लाई पर्यटक क्षेत्रको रूपमा विकास गर्न निरन्तरता दिएको छ भने बेलबारी प्रज्ञा प्रतिष्ठान गठन तथा सञ्चालन गरी कला संस्कृति संरक्षण तथा प्रवर्धनमा जोड दिने भएको छ ।

शिक्षा तर्फ : पाठ्यक्रम आफै तयार गर्ने

स्थानीय भाषाको संरक्षण र उत्थान गर्न आदिवासी जनजातिलाई सम्मान गर्दै धिमाल, थारु, चौधरी, राजबशिं, खवास लगायतका अन्य जातिको स्थानीय भाषामा अध्यापन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रथम जाति, दलित,आदिवासी जनजाति,तथा विपन्न वर्गलाई शिक्षामा पहुँच पुर्‍याउनका लागि छात्रवृत्तिको व्यवस्थापन गर्ने, सुन्दर र हरित बेलबारीको अवधारणा सहित हरित विद्यालय निर्माणका लागि एक विद्यार्थी एक बिरुवा अभियान सञ्चालन गरिने जनाएको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत उत्पीडित असहाय सिमानत्कृत आर्थिक अवस्था कमजोर भएका अल्पसंख्यक तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति कोषको व्यवस्थापन गर्दै दलित, मुसर,डोम,चमार,मुसलमान,आदि जातिका गरिब बिद्यार्थीहरुलाई गरिबसँग नगरपालिका कार्यक्रममा आबद्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आगामी वर्षको अन्त्यसम्ममा पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने,बाल विकास केन्द्रमा शिक्षण गराउने शिक्षिकाहरुलाई उत्प्रेरित गर्न पोसाक भत्तालाई निरन्तरता दिँदै खाजा भत्ताको समेत व्यवस्थापन गरी विद्यालय कर्मचारीहरूलाई पोसाक भत्ताको व्यवस्थापन गर्ने नगरपालिकाको योजना छ ।

समूह सुपरिवेक्षण तथा बिशेषज्ञ बाट २ महिनामा १ पटक विद्यालय र शिक्षाको कक्षाको अवलोकन गर्ने नगर सभामा जनाइएको छ । एउटा छुट्टै स्थानीय पाठ्यक्रमको निर्माण गरी आगामी शैक्षिक सत्र देखी लागु गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

युवा तथा खेलकुद : एक वडा १० युवा एक उद्यम कार्यक्रम

खेल क्षेत्रलाई आकर्षित गर्न वडा नगर स्तरीय मेयर कप फुटबललाई निरन्तरता दिँदै वडा स्तरीय उपमेयरकप सञ्चालन गर्दै एक वडा एक आकर्षक खेल मैदानको नीति अनुरूप हरेक वडालाई खेलकुद जोन तोकिने नगर सभामा बताइएको छ ।

नगर स्तरीय राष्ट्रिय मापदण्डको रङ्गशाला निर्माण गर्ने कार्यलाई जोड दिँदै महिलाहरूलाई आत्म सुरक्षा गर्न र आत्मविश्वास बढाउन कक्षा ८ देखी १२ सम्म छात्राहरूलाई खेलकुदका माध्यमबाट किशोरी आत्म सुरक्षा कार्यक्रम लागु गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । युवाहरूको वैदेशिक पलायन रोक्न लागि १ वडा १० युवा एक उद्यम कार्यक्रम सञ्चालन गर्न आवश्यक प्रक्रिया तथा कानुनी आधार तयार गर्ने समेत जनाइएको छ ।

जनस्वास्थ्य :

कोभिड-१९ को रोकथाम नियन्त्रणका लागि नगरपालिकाले स्थानीय राजनैतिक दल निजी क्षेत्र सुरक्षा निकाय उद्योग वाणिज्यसंघ लगायत अन्य सरोकारवालाहरू लगायत प्रदेश र सघिय सरकारसँग समन्वय गरी सबै प्रकारका उपयुक्त उपायहरू अवलम्बन गर्दै होल्डीङ एरियालाई समेत व्यवस्थित बनाइने उल्लेख गरिएको छ ।

प्राथमिकताको आधारमा स्वास्थ्य बिमा कार्यक्रमलाई समेत निरन्तरता दिइने छ । स्वास्थ्य बिमाका लागि प्रत्येक वडामा ५ लाखका दरले बजेट समेत विनियोजन गरिएको नगर प्रमुख सुवेदीले बताए । ११ वटै वडामा आफ्नै भवन बाट स्वास्थ्य सेवा प्रदान गर्ने समेत नगरपालिकाले लक्ष्य लिएको छ केही वडाहरूमा समेत स्वास्थ्य संस्थाको भवनहरू बनिरहेका छन् ।

१५ शैयाको अस्पताल स्वास्थ्यमा सुधारका लागि नेपाल सरकारको नीति अनुरूप नगर क्षेत्रमा एक अस्पताल निर्माणका लागि चालु आव देखी नै सघिय सरकार सँग गरिँदै आएको पहल नतिजामा पुर्‍याउन विशेष पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सबै स्वास्थ्य चौकी बाट आधारभूत ल्याब सञ्चालनमा ल्याई एउटा आधुनिक ल्याब समेत स्थापना गर्दै नगर क्षेत्रको वर्थीङ सेन्टरमा सुत्केरी हुने महिलाहरुको लागि शिशु स्याहार भत्ता बापत प्रति सुत्केरी ५ हजार उपलब्ध गराइने नीति तथा तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिका क्षेत्रभित्र असाह्य वा बेवारिसे ब्यात्तिको मृत्यु भएमा निजको दाहाँसंकार नगरपालिकाले गर्ने तथा शव बहान समेत सञ्चालनमा ल्याइने भएको छ । सर्पदंश उपचार केन्द्र स्थापना गरी सञ्चालन गर्दै नगरपालिका स्तरीय फिजियोथेरापी सेन्टर स्थापना गरिने जनाइएको छ ।

सहरी पूर्वाधार विकास भवन तथा आवास

विपन्नलाई छानो जस्तापाता कार्यक्रमलाई प्राथमिकता दिएको छ । सार्वजनिक यातायातको व्यवस्थापनका लागि बसपार्क निर्माण कार्यलाई प्राथमिकता सुरुवात गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सडक कोरिडोर (रिङरोड) निर्माण कार्यको सम्भाव्यता अध्ययन गर्ने कार्यको थालनी गर्दै नगरपालिकाको स्वामित्वमा रहेको जग्गाहरूमा आन्तरिक आय वृद्धिका लागि व्यापारिक कम्प्लेक्स निर्माण गर्ने कार्यलाई थालनी गरिने उल्लेख गरिएको छ ।

प्रदेश सरकार सँग साझेदारी गरी शितभन्डार तथा आधुनिक वधशाला निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगर क्षेत्रभित्रका सार्वजनिक स्थान चौकहरूमा खानेपानी धाराहरू तथा सार्वजनिक शौचालयहरू निर्माण जनाइएको छ ।

मूल सडक, वडा कार्यालय जोडने तथा बाक्लो आवतजावत जोडने सडकहरूको स्तरउन्नती साथै ग्रामणि कृषि सडक सुधार कार्यक्रमलाई निरन्तरता दिइने समेत उल्लेख गरिएको छ ।

खानेपानी ऊर्जा व्यवस्थापन

ठुला प्रकृतिका सिँचाइका पुर्वधार विकास,डिपबोरीङ,स्यालो ट्युबवेल जस्ता पुर्वधार विकासका लागि सङ्घ र प्रदेश सरकार सँग समन्वय गर्ने समेत नगर सभामा पेस गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

२१ वटा सिमसारका रूपमा चिनिएको बेलबारीले नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न ताल पोखरी र सिमसार क्षेत्रहरूको संरक्षण गरी त्यसलाई पर्यटकीय गन्तव्य स्थल बनाउने तथा व्यावसायिक रुपमा प्रवर्धन समेत गर्ने नीति नगरपालिकाले लिएको छ ।

बन वातावरण तथा बिपद व्यवस्थापन

निजी क्षेत्रको सहकार्यमा सडकको दुवैतर्फ वातावरण संरक्षण,हरियाली प्रवर्धन तथा नगरको सौन्दर्य कायम गर्न वृक्षारोपण कार्यक्रम मार्फत सफा र हराभरा सडक, स्वच्छ नगर अभियान सञ्चालन गर्ने तथा पानीको स्रोत मुहान, पोखरी, तलाउ ऐतिहासिक सांस्कृतिक तथा धार्मिक सम्पदा एवं जैविक विविधताको संरक्षण गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

आगलागी बाट हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी दमकल सेवाको सञ्चालन र व्यवस्थापन गरिने तथा बिपद न्यूनीकरण र व्यवस्थाको लागि संवेदनशील रहेका सबै खोला खोल्सीहरुमा तटबन्ध र वायोइन्जिनियरिङ प्रविधिलाई जोड दिने जनाइएको छ ।