धरान : गएको चैत्र ११ गते देखि सरकारले लकडाउन घोषणा गरेसङै धरानको विजयपुरमा रहेका मठ मन्दिरहरू पनि बन्द छन् ।

असार १ गते देखि लकडाउन खुकुलो भएसङै अहिले मानिसको चहलपहल पनि बढेको छ । मानिसको चहलपहल बढेसङै विजयपुरमा रहेका मठमन्दिरहरूमा भक्तजन आएर पुजारीलाई हैरानी बनाउन थालेका छन् ।

धरान १४ विजयपुरमा रहेका दन्तकाली, र बुढासुब्बा मन्दिरमा आज बिहान सयौँ भक्तजनहरू पूजा गर्न र भाकल छिनाउन आए पछि मन्दिरमा समस्या भयो । सरकारले अहिले सम्म सार्वजनिक मठ मन्दिरहरू खुल्ला गर्न भनिसकेको छैन र यहाँका मन्दिरहरू पनि बिहान पुजारीले नित्य पूजा मात्रै गर्ने गर्दछ ।

Dantakali-lockdown

तर लकडाउन खुकुलो भएसङै मन्दिरमा भक्तजनहरू आउन थाले पछि समस्या हुन थालेको बुढासुब्बा मन्दिर सम्भार संरक्षण परिषद्का सचिव उत्तम आलेले बताए । लकडाउनका कारण बुढासुब्बा मन्दिर बन्द हो तर मङ्गलवार र शनिवार धरान बाहिरबाट भक्तजन आएर हैरान पार्ने गरेको आलेको भनाई छ । गएको मङ्गलवार र शनिवार धरान बाहिर इटहरी, बाङ्गे, चक्रघट्टी सम्मका मात्रै आउँदै थिए तर आज त झापा भद्रपुर सम्मका भक्तजन भाले लिएर भाकल छिनाउन आए सचिव आलेले भने ।

सरकारले लकडाउन खुकुलो गरेपछि मन्दिरमा भक्तजन आउन थालेपछि उनीहरूले टाढाबाट आएको पूजा गरिदिनुस् भन्छन्, उनीहरूको कुरा सुनेर मन्दिरमा पूजा गर्न थाल्दा भिड बढी हाल्छ । यसले गर्दा समस्या भएको सचिव आले बताउँछन् । आज मात्रै बुढासुव्वामा २ सय भन्दा बढी भक्तजन आए ।

यसै गरी यता दन्तकाली मन्दिरमा पनि आज भक्तजनहरूको भिड थियो । बुढासुब्बा मन्दिरको जस्तै दन्तकाली मन्दिरमा पनि समस्या छ । मन्दिर बन्द छ तर भक्तजन आएर गेटमै पूजा गर्न थाल्छन् सम्झाउँदा भक्तजनले कुरै बुझ्दैनन् दन्तकाली मन्दिर गुठी व्यवस्थापन समितिका सचिव तथा मुख्य पुजारी विश्वराज खनालले बताए । दन्तकाली मन्दिरमा पनि दैनिक नित्य पुजा हुन्छ तर भक्तजनहरूका लागि मन्दिर खुल्ला छैन । टाढा टाढाबाट भक्तजन आउने भएकोले समस्या भएको छ ।

विजयपुरका मन्दिरका पुजारी भन्छन् मन्दिर बन्द छ पूजा र भाकल छिनाउन मन्दिर नआउनुस् । पछिल्लो समय विजयपुरमा त्यसै पनि भिड बढ्न थालेको छ । लकडाउनको बेला समेत विजयपुरमा आउजाउ गर्नेहरूको भिड अरू ठाउको तुलनामा बढी थियो । झन् यति बेला विजयपुरमा साँझ र बिहान मर्निङवाक र इभिनिङवार्क गर्नेहरूको समेत भिड बढेको छ ।

विजयपुरको मठ मन्दिरहरूमा भक्तजनहरूको भिड बढ्नुको मुख्य कारण धरान आउने कुखुरा बोकेर आउने भक्तजनलाई धरानको प्रवेशद्वार मै प्रशासनले रोक्नुपर्नेमा नरोकेपछि मन्दिरमा भिड हुने स्थानीय प्रेम पराजुली बताउँछन् । उनी भन्छन् “ आउनै नदिनु दिएपछि सामाजिक दुरी कायम गरे विजयपुरका मन्दिर व्यवस्थित तरिकाले खोलिनु पर्‍यो ।”