धरान : कोरियामा बस्ने ब्लाष्ट दैनिकका पूर्व कर्मचारीहरूको सहयोगमा धरानका विभिन्न पत्रपत्रिकामा काम गर्ने ४५ जना कर्मचारीहरुहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

शनिवार धरान-१५ ब्लाष्ट दैनिकको कार्यालयबाट धरान उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष नरेश इवारामको उपस्थितिमा उनीहरूलाई प्रति व्यक्ति २५ केजी चामल, ४ केजी दाल, ३ लिटर तेल, ४ केजी नुन, डेढ केजी न्युटेला, मास्क र स्यानिटाइजर उपलब्ध गराइएको हो । उनीहरूलाई वडाध्यक्ष इवाराम र ब्लाष्ट दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीको उपस्थितिमा उपलब्ध गराइएको थियो ।

कोरियाबाट घनेन्द्र बराल, चण्डीराज खतिवडा, खगेन्द्र पराजुली, प्रकाश तिवारीलगायतले १ लाख १७ हजार ४ सय ३४, ब्लाष्ट दैनिकबाट ५ हजार, स्थानीय कमल कार्कीले २ हजार ८ सय ५० र सत्यनारायण यादवबाट एक हजार दुई सय गरि एक लाख २७ हजार ८ सय ८० बराबरको खाद्यान्न उपलब्ध गराइएको ब्लाष्ट दैनिकका उपप्रबन्ध निर्देशक दीपेन्द्र कार्कीले जानकारी दिए ।

प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य देवेन्द्र कार्की र ब्लाष्ट दैनिकका उपप्रबन्ध निर्देशक दीपेन्द्र कार्कीको पहलमा धरानका विभिन्न सञ्चार गृहहरूमा काम गर्ने पत्रिका वितरक, कर्मचारीहरूलाई खाद्यान्न सामाग्री उपलब्ध गराइएको हो । यस अघि प्रेस सङ्गठनका केन्द्रीय सदस्य कार्की र नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष विकाश राईको पहलमा उनीहरूलाई खाद्यान्न सामाग्री उपलब्ध गराइएको थियो ।

कोरोना महामारीका कारण बन्द भएका सञ्चार गृहमा काम गर्ने साथीहरू बेरोजगार भए पछि उनीहरूको समस्यामा केही सहकार्य गरौँ भनेर सहयोग पठाइएको कोरियामा बस्ने घनेन्द्र बरालले बताए । ‘आफू पनि मिडियामा काम गरेको भएकाले झन् सञ्चारगृहहरु नै बन्द भएका बेला केही राहत होस् भनेर कोरियामा बस्ने नेपालीहरूको सहयोगमा रकम पठाएका हौँ ’- बरालले भने ।