धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आज धरान फुस्रेमा रहेको र्यापिड स्ट्यान्ड फिल्टर र सर्दु खोलाको मुहानको अनुगमन गरेका छन् ।

धरानवासीको धारामा धमिलो र लेदो पानी आउने गरेको र खानेपानी मा अनियमित तरिकाले वितरण गरिएको भन्नेबारेमा गुनासो आएपछि मेयरले आज खानेपानीको अनुगमन गरेका हुन् ।

धरान १३ फुस्रेमा बनेको र्यापिड स्ट्यान्ड फिल्टरबाट अव देखि पानी फिल्टर गरेर मात्रै वितरण गर्ने र खोलामा पानीको स्रोतको अवस्था कस्तो छ भन्ने बारेमा मेयरले अनुगमन गरे ।

एकीकृत सहरी विकास आयोजना अन्तर्गत निर्माण भएको र्यापीड स्ट्यान्ड फिल्टरमा पानी सुद्धिकरण गरेर मात्रै पानी उपभोक्तालाई वितरण गर्न र सबै तिर समानरुपमा पानी वितरण गर्न नेपाल खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठ र धरान खानेपानी परियोजनाका आयोजना प्रमुख राजु पोख्रेललाई मेयर राईले निर्देशन दिएका छन् ।

सर्दु र खर्दु खोलाको खानेपानीको मुहान र सेडिमेन्टेनसन टङ्कीको अवलोकन गर्न पुगेका मेयर राईले अबको केही दिनमै धरानमा शुद्ध खानेपानी वितरण हुने बताए । सर्दु र खर्दु खोलामा पानी बढेकोले अव केही दिन देखि दिन बिराएर वितरण हुँदै आएको खानेपानी नियमित वितरण गर्ने तयारी भइरहेको पनि नेपाल खानेपानी संस्थानका प्रमुख रामकुमार श्रेष्ठले बताए । उनका अनुसार अव संस्थान खानेपानी बोर्डमा मर्ज भएपछि धरानमा खानेपानी सहजरुपमा उपभोक्ताको धारामा पुग्ने र सुद्धिकरण गरिएको पानी पुग्नेछ ।

मेयर सहितको अनुगमन टोलीले धरान १३ फुस्रेमा निर्माण भएको र्यापिड स्ट्यान्ड फिल्टर, सर्दु मुहानबाट आएको सेडिमेन्टेन्सन् र रिजर्भ टङ्की, सर्दु खोलाको खानेपानीको मुहान र खर्दु खोलाको सेडिमेन्टेन्सन् र रिजर्भ टङ्कीको अनुगमन गरेको थियो ।

Khanepani-3 Khanepani-2 Khanepani-6 Khanepani-4 Khanepani-8 Khanepani-5 Khanepani-7 Khanepani-10 Khanepani-9